विद्यार्थीलाई लोक सेवा आयोगको तयारी सम्बन्धी अभिमुखीकरण

विद्यार्थीलाई लोक सेवा आयोगको तयारी सम्बन्धी अभिमुखीकरण
सुन्नुहोस्

दैलेख – कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको कार्यालयले दैलेखमा मावि तहका विद्यार्थीलाई लोक सेवा आयोगको तयारी कक्षा अभिमुखीकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसंगको समन्वयमा त्रिभुवन मावि दैलेखबजारका कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता गराइएको थियो । 
सरकार र शासन प्रणालीका विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सार्वजनिक सेवा प्रवाह र सुशासन बारे जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटा र लोक सेवा आयोग तयारीका लागि महत्वपूर्ण टिप्स विषयमा मुख्यमन्त्रीको कार्यालयका उपसचिव कृष्ण खरेलले अभिमुखीकरण गर्नुभएको मुख्यमन्त्रीको कार्यालयका छैंटौं अधिकृत राजेश आचार्यले जानकारी दिनुभयो । 
अभिमुखीकरणको क्रममा प्रमुख जिल्ला अधिकारी भुसालले निजामती सेवा नितान्त सेवा भएको कारण धेरै धन कमाउन चाहनेका लागि नभएको बताउनुभयो । उहाँले सरकारले दिएको कलममा निजामती सेवा कर्मचारीलाई निश्चित अधिकार दिएको छ, त्यो नै देश विकासमा योगदान र गौरव रहेको व्याख्या गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी भुसालले निजामती सेवामा पनि केही बिकृति र बिसंगतीहरु छन्, युवाहरु आएर यसलाई सुधार गर्दै लैजानुपर्ने सुझाव दिनुभयो । अर्का सहजकर्ता निमित्त जिल्ला समन्वय अधिकारी सापकोटाले सुशासन र पारदर्शिता अभ्यासले जनताप्रति राज्यप्रतिको विश्वास बढाउने बताउनुभयो । 
मुख्यमन्त्रीको कार्यालयका उपसचिव खरेलले लोक सेवा आयोगमा सोधिने प्रश्नहरुका नमूना, पढेको कुरा स्मरण गर्ने तरिका, पढेको विषय बस्तुको विषयगत र बस्तुगत तुलनात्मक बिश्लेषण, परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन गरिने कोडिङ्ग लगायतका सहभागी विद्यार्थीहरुलाई प्रष्ट्याउनुभएको थियो । 
 

प्रतिक्रिया