क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार कसूरमा आठ वर्ष कैद

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार कसूरमा आठ वर्ष कैद

काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको कसूरमा आठ वर्ष कैद गर्ने सजाय तोकेको छ । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार आठ वर्ष कैद, तीन लाग जरिवाना र दुई लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला पनि गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

२०७९ भदौ ६ गते राति लामिछानेले बलात्कार गरेको भन्दै डेढ वर्ष अघि भदौ २१ गते परिवर्तित नाम 'गौशाला २६'ले गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिनुभएको थियो । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको थियो । 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैंयाँ धरौटीमा छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए । फैसला चित्त नबुझेको कारण उच्च अदालत जाने लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले बताउनुभएको छ ।

मुलुकी फौजदारी कार्यविधि (सहिंता) ऐन २०७४ को दफा १३७ को उपदफा २ अनुसार अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने भनी धरौटाी छुटेकाहरुले १० वर्ष भन्दा कम कैदमा तोकिएको अवस्थामा कैदमा नबसी थप कानुनी उपचारका लागि उच्च अदालत जाने पाउने कानूनी व्यवस्था छ । 

फौजदारी कसूरमा प्रहरी अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले जिल्ला अदालतमा अभियोग पेश गरेपछि अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्तिहको हकमा तीन वर्ष माथिको कैद तोकिएकाले कैदमै बसेर पुनरावेदन गर्नपर्ने र तीन वर्ष कमको कैदको हकमा कैदमा नबसी पुनरावेदन गर्न पाइन्छ । 

प्रतिक्रिया