बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर –   बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलको उडान आज पनि प्रभावित बन्ने भएको छ । उपर्युक्त भिजिबिलिटी नहुँदा हिजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो । 

हिजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताउनुभयो  । अन्य उडान भने रद्द गरिएको थियो ।

आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुङ्गो नभएको उहाँले बताउनुभयो  । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरू हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरूले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया