संस्कृति जोगाउन युवा सडकमा नाच्दै

संस्कृति जोगाउन युवा सडकमा नाच्दै

सिमकोट – सिमकोट गाउँपालिका– ५ को तल्लो गाउँका युवा संस्कृति जोगाउनका लागि स्थानीय वेशभूषामा सजिएर सडकमा नाच्दै आएका छन् । केही वर्षअगाडिसम्म यसरी नाच्दै सडकमा भुओ पर्वमा भैलो माग्ने गरिएकोमा त्यो परम्परा हराएपछि त्यसलाई जगेर्ना गर्न युवाले यस वर्षबाट त्यसरी नाच्न थालेका हुन् ।

सिमकोट तल्लो गाउँ निवासी धर्मराज रोकायाले पुर्खाले मान्दै आएको भुओ पर्वका बेला मागिने भैलो हराउन थालेपछि यस वर्षबाट युवाहरू मिलेर नाच्दै भैलो माग्न थालिएको बताउनुभयो ।

३१२ घरधुरी रहेको उक्त वडाका अधिकांश घरधुरीबाट महिला पुरुषको सहभागिता छ। परम्परागत पहिरनमा सजिएर हातमा ढाल तरवार समातेर नाच्दै घर–घर अगाडि जाने र घरका मानिसले भैलो स्वरुप नगद, फलफूल र खाद्यान्न दिने गरेको उहाँले बताउनुभयो । उक्त गाउँवासीले मंगलबार दोस्रो दिन पनि यसरी नाचेर भैलो माग्ने क्रममा जारी राखेका छन्।

उहाँले भुओ पर्वमा रमाइलो पनि हुने र आफ्नो साँस्कृतिक परम्परा पनि जोगिने भएकाले युवालाई सडकमा उतारिएको बताउनुभयो । यस वर्ष भुओ पर्व आज परेको छ। जसमा रातभरि आगो बालेर युवाहरू जाग्राम बस्ने र देउडा गाउने गर्छन्।

प्रतिक्रिया