रुकुममा अदुवा उत्पादनमा गिरावट

रुकुममा अदुवा उत्पादनमा गिरावट

रुकुम पश्चिम –  रुकुम पश्चिममा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएको छ । गत वर्षको भन्दा उत्पादनमा कमी आए पनि अदुवाको मूल्य भने तेब्बरले वृद्धि भएको हो ।

 गत वर्षको तुलनामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रति क्विन्टल दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रति क्विन्टल पाँच हजार देखि आठ हजारसम्ममा विक्री गरेका छन् ।

जिल्लामा मुख्य गरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले बताउनुभयो  । यस वर्ष जिल्लाबाट एक हजार ६ सय मेट्रिक टन अदुवा विक्रीबाट आठ करोड ८० लाख आम्दानी भएको छ । भने अझै केही अदुवा बिक्री गर्न बाँकी रहेको बताइएको छ ।

अदुवा उत्पादनबाट ४० हजार देखि पाँच लाख सम्म किसानले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो  ।

अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले बताउनुभयो । सामान्य खेती गर्ने किसानले दुई रोपनी देखि व्यावसायिक रूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवा खेती गर्ने गरेका छन् ।

‘गत वर्ष जिल्लामा अर्ग्यानिक कृषि प्रमाणित भएका तीन सय एक जना किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अर्ग्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले विक्री गरेको थियो ।

यस वर्ष भने व्यापारी किसानकै बारीमा आएर अदुवा खरिद गरेपछि बजारको समस्या भएन किसानले आफै राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्’ उहाँले भन्नुभयो ।

जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । साउन महिनाको अन्तिममा बुर्णा (नयाँ तयार नुहुँदै निकालिएको पुरानो बीउ) निकाल्नु पर्नेमा असारमै निकालेका कारण यस वर्ष अदुवा उत्पादनमा कमी आएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।-कखरा

प्रतिक्रिया