चौरपाटीका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोको पुवा
अछाम– दिवा खाजाको रुपमा के खान मन पराउनु हुन्, चाउचाउ, मम, चाउमिन या अन्य फास्टफुड रु तर तपाईले कहिल्यै खाजाको रुपमा कोदोको पुवालाई खानु भएको छ ? यदि छैन भने आउनुस् चौरपाटी गाउँपालिकाका सामुदायिक विद्यालयमा । जहाँ हप्ताको २ दिन कोदोको पुवालाई नै दिवा खाजाका रुपमा दिने गरिन्छ ।
चौरपाटी गाउँपालिकाअन्तर्गतका विद्यालयमा दिवा खाजामा हप्ताको दुई दिन कोदोको पुवा, मकैको च्याख्ला र गेडागुडी दिदै आएको छ । गाउँपालिकाले सिजनअनुसार खाजामा परिवर्तन गर्नुका साथै तीन वटा खाजाको मेनु थप्ने योजनामा रहेको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रामचन्द्र जोशीले बताउनुभयो ।
पालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालय र ११ वटा बालविकासमा सो कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।उहाँका अनुसार सो शैक्षिक संस्थामा करिब चार हजार जना विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीबाट खाजा उपलब्ध गराउदै आएको छ ।
स्थानीयस्तरमा किसानले उत्पादन गरेको रैथाने बाली कोदो, मकैलगायतका बालीलाई समृद्धिको लक्ष्य र बजारीकरणमा जोड दिइएको अधिकृत जोशीको भनाइ छ । गाउँपालिकामा सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी क्षेत्रबाट रैथानेबाली प्रसस्तै उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष२०८०/०८१ मा गाउँघरकै उत्पादित अन्नबालीलाई विद्यालयको दिवाखाजामा दिने गरेको उहाँले बताउनुभयो ।
ुगाउँघरमा उत्पादन भएका बालीलाई सहकारीले संकलन तथा मोडिफाइ गरेर स्कुलमा पकाएर विद्यार्थीलाई दिवा खाजामा दिदै आएका छौँ , उहाँले भन्नुभयो । उक्त बाली संकलन तथा भण्डारणको लागि पाँच वटा सहकारीलाई जिम्मा दिएको उहाँले बताउनुभयो ।
विद्यालयको दिवा खाजा कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई दिने गरेको छ । यसका लागि संघीय सरकारको कार्यक्रमको सर्शत अनुदानअन्तर्गत एक करोड ३५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया