सामाजिक सुरक्षा भत्ताले राउटेलाई माघी सजिलो
दैलेख – गुराँस गाउँपालिकाले दैलेखको भैरबी गाउँपालिका वडा नंं. ४ बाङगेतडामा बस्तै आएका राउटे समुदायलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । माघीको किनमेलका सजिलाको लागि गुराँस गाउँपालिकाका उपाध्यक्ष सिवाकुमारी खड्का सहितको टोलीले शनिवार उक्त राउटे समुदायलाई सुरक्षा भत्ता वितरण गरेको हो ।
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ ले स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।
हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा दैलेखको भैरबी गाउँपालिका वडा नंं. ४ बाङगेतडामा पुगेका ४१ परिवारका एक सय ३८ जनालाई कात्तिक, मंसिर र पुस समेत तीन महिनाको प्रतिव्यक्ति बाह्र हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका – ८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।
दुई साता अघि न्यानो कपडा वितरण गर्न राउटे बस्ती पुग्नुभएका दैलेखखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसंग माघी मान्न सामाजिक सुरक्षा भत्ता पठाइदिन आग्रह गरेका थिए । गाउँपालिकाले भत्ता बुझाएपछि राउटे समुदायले माघी मान्न सजिलो परेको आफूलाई जानकारी आएका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले बताउनुभयो ।
राउटे समुदायले साँउने सँक्रान्ती, माघी मुख्य चाड हो । त्यसो त उनीहरुले दशैं र मंसिर पूर्णिमालाई पनि भव्य रुपमा मनाउछन् । साँउने सँक्रान्ती, दशैं र मंसिर पूर्णिमा खशी काट्ने, बाँदरको सिकार गर्ने गर्दछन् । माघे सक्रान्तीमा चाहिँ सकरखण्ड, तरुल, गिठा, फर्सी, पिनालु लगायतका फलफूल खाने गर्दछन्, उनीहरुले माघ महिनामा मासु खाँदैनन् ।
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरै जति दैलेखमा बस्ने गरेकोले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पठाउने गरेकोले राउटे समुदाय बस्ती जहाँ पुग्छन् गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ । राउटेहरु जहाँ पुग्छन् त्यही गएर सुरक्षा भत्ता वितरण गर्ने सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयलाई जिम्मेवारी दिएकोमा सहज भएको साेसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।
राउटे समुदायलाई स्वास्थ्य सरसफाई र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना सञ्चालन गरेको छ । दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक पनि राउटेको बस्ती सरेसंगै राउटेहरुको आनीवानी सुधारमा सहयोग गर्ने गरेका छन् ।
२०५८ मा एक सय ८० जना, २०६८ को जनगणनामा एक सय ६६ जना जनसंख्या रहेको राउटे समुदायको बारे पहिलो पटक गुराँस गाउँपालिकाले संकलन गरेको तथ्यांक अनुसार २०७४ असारमा एक सय ४९ जना, २०७८ को जनगणनाको बेला एक सय ४८ रहेकोमा अहिले एक सय ३८ जना छ ।
जनगणनाको तथ्यांकलाई केलाउँदा राउटे समुदायको जनसंख्या घट्दै गरेको छ । जन्मान्तर वा परिवार नियोजनको शिक्षा लिनै नचाहने राउटे समुदायको जनसंख्या घट्नुको मुख्य कारण बढ्दो मृत्यूदर हो । सिकार खेल्न जाँदा मृत्यू, खानपिन र बस्ने टहराहरुले स्वास्थ्य अनुकुल नभएको कारण मृत्यूदर बढेको अध्येताहरुको भनाई छ ।
प्रतिक्रिया