च्याउ खेतीमा राउटे समुदायको रुची
सुर्खेत – नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जंगलमा फिरन्ते जीवन बिताउदै काठका कोशाी मधुस बनाएर गाँउमा गएर अन्न पातसँग साटेर जीविका धान्ने राउटे समुदाय पछिल्लो समय परिर्वतन हुन थालेका छन् । पहिले खेतीपातीमा गर्नुहुन्न भन्ने यो समुदाय अहिले सागपात उमार्ने, च्याउ उमार्ने लगायत कृषि क्षेत्रमा थोरै रुची देखाउन थालेका छन् । च्याउ उत्पादन सम्बन्धी दुई दिने तालिम पाएका यो समुदायले अहिले च्याउ उत्पादनमा लागेका छन् ।
एइआईएन लक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजीकरणमा लोपउन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । दुई दिने तालिम लिएका उनीहरूले बस्तीमा च्याउ उमारेका छन् । च्याउ यो समुदायले बढी रुचाउने गर्छन ।
खेतीपाती, लेखपढ र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो जाति बस्तीमै च्याउ उत्पादन हुँदा खुशी पनि छन । सोसेक नेपालमार्फत २० जना राउटे युवालाई च्याउ उत्पादन सम्बन्धी तालिम दिएपछि राउटेले बस्तीमै च्याउ उत्पादन गरेको राउटे युवा प्रकाश शाहीले बताउनुभयो । च्याउ राम्रो फल्यो, हामी आफंैले खेती गरेर च्याउ फलाएका हौं, उहाँले भन्नुभयो, ‘परालमा च्याउ फल्छ भन्ने हामीलाई विश्वास लागेको थिएन । तर, एक महिनापछि च्याउ फलेको देखेर खुशी हुँदै खाइरहेका छौं, हामीलाई अब तरकारीको चिन्ता छैन ।’
राउटे समुदायको प्रकाश मात्र नभएर राउटे बस्तीमा च्याउ खान पाउँदा अन्य राउटे समेत खुशी भएको अर्का युवा दीपक शाहीले बताउनुभयो । ‘पहिला त पैंसाले किनेर खान्थ्यौं, अहिले आफैंले फलाएका छौं । परालमा हुँदैन कि भन्ने लागेको थियो, परालमा पनि हुँदो रहेछ’ उहाँले भन्नुभयोे ।
राउटेमा पोषणको आवश्यकता देखिएकाले उनीहरूलाई सम्झाइबुझाइ गरी च्याउ उत्पादन तालिम दिइएको सोसेक नेपालद्धारा संचालित राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादूर खत्रीले बताउनुभयो । सुरुमा त के पो गर्न लागेका हुन भन्ने देखेर दंग थिए र सुरुमा मानेनन । उहाँले भन्नुभयो, ‘परालमा च्याउ उम्रिन्छ भन्दा हाँसे पनि एक महिनापछि च्याउ उमिँ्रदा आजभोलि दंग छन ।’
यसरी च्याउ उमारेर खाएपछि मिठो लागेर अब असारमा अर्को खेती गछौँ भनेका छन, जोडी शिक्षक खत्रीले भन्नुभयोे, राउटे समुदाय च्याउ र कुभिन्डो अत्यधिक रुचाउने गर्छन । पहिले बस्तीमा च्याउ नहुँदा सुर्खेत, दैलेख बजार पुगेरै किनेर लिन्थे । अहिले आफ्नै बस्तीमा उत्पादन गरेर मीठो मानेर खाइरहेका छन्, अब राउटेहरु पनि तरकारीका फरकफरक स्वाद बदल्ने गरेको देखेर हामीलाई पनि राम्रो लाग्यो’ भैरवी गाउँपालिका–४ डाडीमाडीकी सरिता शाहीले बताउनुहुन्छ ।
बस्ती बसेको ठाउँमा कतै अन्न दाना उम्रिन्छ कि भनेर बसाइसराइँ गर्दा आगो लगाएर जान्थे । अन्न उमिँ्रदैन पनि थियो । तर, अचेल बस्ती च्याउ उत्पादन गर्न थालेपछि राउटे सामाजिकीकरण हुँदै गएको दैलेख आठबीस नगरपालिकाका खगेन्द्रबहादूर शाहीले बताउनुभयो । ‘पहिलेको भन्दा अहिले राउटेमा धेरै परिवर्तन भएको छ, पर्वमा मात्र नुहाउने यो समुदाय आजभोलि फोहोर भएको महसुस हुनेबित्तिकै नुहाउँछन, फोहोर फाल्ने खाल्डो, अस्थायी शौचालयसमेत निर्माण गरेका छन्’ शाहीले भन्नुभयो ।
युवा र युवतीमा परिवर्तनको चाहनाले घचघच्याइरहेको छ भने बुढापाका गैरराउटेले गर्दै आएका काम तत्कालन स्वीकार गर्ने पक्षमा छैनन । बुढापाका राउटे परम्पराको निरन्तरता चाहन्छ । २०६५ सालमा पहिलो पटक राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, सरकार प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट्दा मुखिया सूर्यनारायण शाहीको टोलीले स्थायी बसोबास, लेखपढ र खेतीपातीका कुरा अस्वीकार गरेको थिए ।
त्यसबेला प्रधानमन्त्रीले घर बनाइदिन्छौं एकै ठाउँमा बस्नु प¥यो भनेको बेला राउटेमुखिया सूर्यनारायणको टिप्पणी थियो ‘हाम्रो परम्परामा त राउटे समुदायको कोही मान्छे मर्ने बित्तिकै त्यो ठाउँ छोड्नुपर्छ, तपाइँले राउटेलाई मर्न नपर्ने बनाइदिए एकै ठाउँमा बसोबास गरौंला त ।’ खेती र पढाई लेखाइमा पनि यस्तै कडा अडान राखेका राउटे समुदायलाई च्याउ र मुला लगाउनेसम्म बनाउन राउटे परियोजनाका सहजकर्ताहरुको अथक प्रयासबाट सम्भव भएको हो । च्याउ खेतीले राउटे समुदायलाई खेती मै निर्भर बनाउन नसकिएला तर ससाना प्रयासहरुले उनीहरुलाई सामाजिकीकरणमा बिस्तारै उत्प्रेरित गराउन सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो ।
प्रतिक्रिया