सशस्त्र प्रहरीद्वारा बसपार्कमा यात्रु प्रतीक्षालय निर्माण

सशस्त्र प्रहरीको २३ औं वाषिर्कोत्सव पारेर मंगलबार नगरपालिकालाई हस्तान्तरण

सशस्त्र प्रहरीद्वारा बसपार्कमा यात्रु प्रतीक्षालय निर्माण
सुन्नुहोस्

दैलेख – सशस्त्र प्रहरी बल ६ नंं. बाहिनी सुर्खेतको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखको श्रमदानमा दैलेख सदरमुकामको बसपार्कमा निर्मित यात्रु प्रतीक्षालय मंगलबार नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तरगत ६ नंं. बाहिनीको एक लाख पचास हजार आर्थिक श्रोतमा निर्माण सामग्री र आश्रित गुल्म दैलेखका जनशक्ति परिचालन गरी निर्माण गरिएको यात्रु प्रतीक्षालय मंगलबार सशस्त्र प्रहरीको २३ औं वाषिर्कोत्सव पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । 

यात्रु प्रतीक्षालय नजिकै आयोजना गरिएको औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) द्रोण ढकालले नारायण नगरपालिकाका मेयर लोमन शर्मालाई प्रतीक्षालयको स्वामित्व हस्तान्तरण गर्नुभयो । 

अभिषेक स्मृति क्लवका संरक्षक रुद्रबहादुर थापा र उद्योग बाणिज्य संघ दैलेखका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यात्रु प्रतीक्षालय नजिकै रहेको सार्वजनिक शौचालयका लागि पानी राख्न करिब १२ हजार मूल्यका दुई वटा हिलटेक ट्याँकी दिनुभएको कार्यक्रममा जानकारी गराइएको थियो । 

यात्रु प्रतीक्षालय निर्माण गर्ने सशस्त्र प्रहरी बल र सार्वजनिक शौचालयका लागि पानी राख्न करिब १२ हजार मूल्यका दुई वटा हिलटेक ट्याँकी दिने दाताहरुलाई नारायण नगरपालिकाका मेयर लोमन शर्माले धन्यवाद दिनुभयो । 

आश्रित गुल्म दैलेखका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) द्रोण ढकालले यात्रु प्रतीक्षालयको उचित संरक्षण गर्न नगरपालिकासंग आग्रह गर्नुभयो । नारायण नगरपालिकाका उपमेयर तप्ता थापाले सार्वजनिक सम्पतिको सुरक्षा र उपभोग गर्न हरेक नागरिकको दायित्व हुने बताउनुभयो । 
 

प्रतिक्रिया