बलात्कार उजुरीको बदलामा छोराको हत्या घटनाको स्थलगत अनुगमन

बलात्कार उजुरीको बदलामा छोराको हत्या घटनाको स्थलगत अनुगमन

सुर्खेत - अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले १९ वर्षीया छोरीलाई बलात्कार गरेको घटनामा उजुरी गरेको बदला फेर्न २१ वर्षको आफ्नै छोराको हत्या गरेको भनिएको घटना सम्बन्धमा सोमबार स्थलगत अनुगमन गरेको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको नेतृत्वमा आवाज संस्थाकी मनोविमर्शकर्ता निशा पौडेल, दलित महिला सङ्घ फेडोका सचिव खगिसरा वली समेतको संयुक्त अनुगमन टोलीले घटनास्थलमा पुगेर अनुगमन गरेको हो ।

टोलीले इलाका प्रहरी कार्यालय पञ्चपुरीका प्रमुख विनोद सुवेदीसँग घटनाको विषयमा जानकारी लिएको छ । घटनास्थल वरपरका स्थानीयवासी, घटनास्थल, प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको थियो टालीले मंगलबार प्रहरी हिरासतमा रहेका आरोपित र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग भेटघाट गरेको बताइएको छ ।

छोरालाई माघ १ गते राति बञ्चरो प्रहार गरेर हत्या गरी फरार भएका ४२ वर्षीय बाबुविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा मृतकका काकाले कर्तव्य ज्यानको जाहेरी दिनुभएको थियो । आरोपित बाबुलाई प्रहरीले पुस ४ गते कैलाली जिल्लाको टिकापुरबाट गिरफ्तार गरी आरोपितलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१९ वर्षीया छोरीलाई गत असोज २७ गते बाबुले बलात्कार गरेको भन्दै २१ वर्षीय छोराले प्रहरीमा कात्तिक १५ गते उजुरी दिएका थिए । उजुरी परे लगत्तै आरोपित फरार भएका थिए । बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा आरोपित दिएको बदलामा हत्या गरेको उजुरीमा उल्लेख गरिएको छ ।

प्रहरीमा जाहेरी परेपछि आरोपित कान्छी पत्नी सहित भागेर भारतमा लुकी बसेकामा भारतबाटै योजनाबद्ध रुपमा आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम माघ ४ गते प्रदेश अस्पतालमा भएको थियो । मृतकका परिवारले माघ ५ गते पञ्चपुरीमा शवको सदगद गरेका थिए ।

प्रतिक्रिया