बलात्कार घटनाका कसूरदारलाई जन्मकैद

बलात्कार घटनाका कसूरदारलाई जन्मकैद
सुन्नुहोस्

दैलेख – ७ वर्षीया बालिका बलात्कार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले मंगलबार जन्मकैद गरेको छ ।सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष काराबास (जन्मकैद)संगै सात लाख रुपैंयाँ जरिवाना, एक लाख पचास हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भएको हो । 

पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।  

पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेतस्थित घरबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते दैलेख अस्पतालमा भयो । 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले जेठ २६ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा जेठ २७ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । 

मंगलबार दैलेख जिल्ला अदालतको इजलासमा पीडित परिवारको तर्फबाट जिल्ला सरकारी वकील कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो । साेसेक नेपालले पीडितकाे कानूनी प्रक्रियाका लागि उजुरी गर्ने तथा आवास र स्वास्थ्य उपचारमा दैलेख अस्पतालकाे ओसीएमसीले सहयाेग गरेकाे थियाे । 

प्रतिक्रिया