शैक्षिक गुणस्तर सुधार्न सबै क्षेत्रको लगनशीलता जरुरी

शैक्षिक गुणस्तर सुधार्न सबै क्षेत्रको लगनशीलता जरुरी

दैलेख – डुंगेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र खड्काले शैक्षिक गुणस्तर सुधारका निम्ति शिक्षकहरुको मात्र तत्परताले सम्भव नहुने बताउनुभएको छ । पिपलचौतारा मावि डाँडापराजुलको ४४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक र विद्यार्थीको पनि लगनशीलता जरुरी पर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा पूर्व शिक्षक समाजसेबी हिमालयजंग शाहले शैक्षिक नीति, पाठ्यक्रम लगायतका प्राविधिक पक्ष राम्रो हुने सके शिक्षण पद्धति, सिकाई प्रभावकारिता हुने र यसले विद्यार्थीहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । 

पिपलचौतारा मावि डाँडापराजुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवलाल जैसीको अध्यक्षतामा भएको कार्यक्रममा त्यसैगरी डुंगेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र शाही, विद्यालयका प्रधानाध्यापक नन्दबहादुर केसीले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सहकार्यता विषयमा प्रकाश पार्नुभएको थियो । 

वार्षिकोत्सव कार्यक्रममा नेपाली काग्रेसका रमिता तिरुवा, राजमो मणिराम न्यौपाने, राजमो पूर्व वडाध्यक्ष चन्द्रमणी शर्मा, समाजसेवी ललितजंग शाह, शिक्षक अभिभावक संघका कृष्ण पाण्डे, विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालय बिकले पिपलचौतारा मावि डाँडापराजुलले गरेको प्रयास र सुधारका निम्ति गर्नुपर्ने काम बारे आआफ्नो धारणा राख्नुभएको थियो । 

उक्त कार्यक्रममा छिमेकी विद्यालयका तर्फबाट नेपाल राष्ट्रिय प्रावि पोखरीपाटाका प्रधानाध्यापक भवानी न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका तर्फबाट सरस्वती मावि ओइरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र अर्यालय, पिपलचौतारा मावि डाँडापराजुलका शिक्षिका सकुन्तला गौतमले पनि बोल्नुभएको थियो ।  

 

त्यसबखत डाँडापराजुल पुख्र्यौख्यालीको स्मरण गर्दै कास्की जिल्लाको बिन्ध्यवासिनी नगरपालिका–२ निरुवा निवासी कल्याण पराजुलीले ७ वर्ष अघि स्थापना गर्नु भएको दुई लाख रुपैंयाँ राशीको पुष्पशान्ति गोमादेबी अक्षय कोषबाट आर्जित व्याजबाट रकमको छात्रबृति वितरण गरिएको थियो ।  

पुष्पशान्ति गोमादेबी अक्षय कोषबाट आर्जित व्याजबाट प्राप्त रकमबाट हरेक वर्ष पिपलचौतारा मावि डाँडापराजुलबाट कक्षा १० र १२ बाट उत्तीर्ण मध्ये उत्कृष्टलाई दिइने छात्रबृति यस वर्ष एसईईमा नबिन न्यौपाने, प्रकृति न्यौपाने र कक्षा १२ की कमला हिरोजकलाई जनही ३८ सय ५० रुपैंयाँ दिइएको थियो । 

विद्यालयमा बालबालिकाका लागि मनोसामाजिक सचेतना काम गर्दै आएको बहुसाँस्कृतिक मनोपरापर्श संस्था (टीपीओ)का सामुदायिक मनोपरापर्शकर्ता द्वय सुनिता सुनार र प्रतीमा थापाको सहजीकरणमा विद्यालय विद्यार्थीहरुले बालविवाह रोकथाम सम्वन्धी सडक नाटक प्रस्तूत गर्नुभएको थियो । 

सडक नाटकको अलवा बालबालिकाहरुले शैक्षिक जागरण र सामाजिक सचेतनामूलक गीत, नृत्य लगायतका बाल प्रतिभा प्रदर्शन गरेको कार्यक्रममा विद्यालयको लागि जग्गा दिने जग्गादाता, व्यवस्थापन समितिमा नेतृत्व दिएका, विद्यालयमा शिक्षण गर्नुभएका शिक्षक, उदाहरणीय अभिभावक र अनुशासित विद्यार्थीलाई सम्मान गरिएको थियो । 

२०३६ माघ १० गते स्थापना भएको भनिएको यस विद्यालयमा अध्ययन गरी नेपाली सेनाको जर्नेल, निजामति सेवामा अधिकृतहरु लगायत राष्ट्रसेवामा जुटेका, राजनीतिक नेतृत्व, कला तथा सँस्कृतिको जगेर्नामा ख्यातिप्राप्त स्थानमा पुगेका पूर्व विद्यार्थीको नाम समेत सगौरव उच्चरण गरिएको थियो ।  


 

प्रतिक्रिया