प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

खजुरा -  बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञा–प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि आज यहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । 

सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

“यही माघ १३ र १४ गते सात विधामा प्रतियोगिता गराउने छौँ । माघ १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गर्ने कार्यक्र छ,” डा भण्डारीले भन्नुभयो, “यसअघि केही विधामा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । एकैपटक बृहत्रुपमा सात विधामा पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।” कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार गाउँपालिकाभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गरिएको हो । उहाँले साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा–प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताउनुभयो । 

यस कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया