हिमाली क्षेत्रमा हिमपात, बेशीतिर पनि झरीले राहत
दैलेख – पहाडी जिल्ला दैलेखको लेकाली क्षेत्रमा हिमपात र बेशी फाँटहरुमा झरी परेपछि किसानहरु खुशी भएका छन् । यो हिउँदको पहिलो झरीले खेतीलाई ठूलो राहत मिलेको माथिल्लो डुंगेश्वरका किसान देबेन्द्र गोदारले बताउनुहोला ।
सिंचाईको सुविधा नभएको दैलेखका सबैजसो गाउँठाउँमा हिउँदे खेतीका लागि झरी–वर्षाको भरोसा हुन्छ, यो हिउँदो पहिलो झरी भएकोले हामी जस्तो सबै किसानलाई ठूलै राहत मिलेको गोदारले सुनाउनुभयो । व्यवसायिक तरकारी खेती गर्ने पौरखी किसानको परिचय बनाएका उहाँले भन्नुभयो ‘आकाशे पानीको भरोसामा खेती गरिरहेकाहरुलाई यो ठूलै राहत भयो ।’
डुंगेश्वर गाउँपालिका–१ बेलपाटाकी गोपी बादी जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी लिन आवश्यक कागजजात लिई आउनुभएको तर यहाँ इण्टरनेट समस्याका कारण प्रतिलिपी पाउन नसकेको गुनासो सुनाउनुभयो । नेट ठीक अवस्थामा राख्ने काम कार्यालयको हो, सेवाग्राहीले दुख पाउनुहुन्न उहाँको टिप्पणी थियो ।
जिल्लामा उब्जाउ भूमीको २६–३० प्रतिशत मात्र सिचाई सुविधा पुगेकोले अरु सबै ठाउँमा आकाशे पानीकै भरोसा भएकोले यो बेला परेको झरीले गहुबाली र तरकारी खेतीलाई अति नै राम्रो भएको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख दशरथ पाण्डेको भनाई छ ।
ज्यादै खुख्खा परेको बेला हिउँदे झरी परेकोले किसानहरुलाई राहत भएको छ, किसानहरुका लागि खुशीको कुरा हो । तर झरीले चिसो बढेको कारण बृद्धबृद्धाहरु र बालबालिकाहरुलाई न्यानो गराउन कपडा र आगो ताप्ने अनि झोलिलो खाना खान नारायण नगरपालिका–११ का वडासदस्य दिपक शाहीको आग्रह छ ।
करिब ४१ सय मीटर भन्दा बढी उचाईको हिमाली क्षेत्र र ५ सय मीटर उचाई रहेको समतल बेशी क्षेत्र रहेको दैलेखमा गहु खेती र तरकारी खेती हिउँदमा अलि धेरै गरिने खेती हो । हिमाली क्षेत्रमा हिमपात र बेशीतिर झरीले खेतीलाई राम्रो गरेको भन्दै किसानहरुले खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया