हरिमायाको मन हारेको छैन : ‘मेरो श्रीमान् भेटिनुहुन्छ’

हरिमायाको मन हारेको छैन : ‘मेरो श्रीमान् भेटिनुहुन्छ’ हराएको युवक अर्जुन नेपाली

दैलेख – दुई छोराछोरीको उज्ज्वल भविष्यको र आफूहरुको सुख सयलको जीवनका लागि मजदूरी गर्न भारत जान हिँड्नुभएका २३ वर्षे युवक अर्जुन नेपाली हराएको ६ वर्ष नाघिसकेको छ । परिवारजनले खोजीनीति सक्दो जति धेरै ग¥यो तर पत्ता लगाउन सकेको छैन । 

पहिलेदेखि होटलमा मजदूरी गर्दै आएको भारतको सुरत जानलाई २०७४ मंसिर १७ गते दैलेखबजारबाट बस चढेर त्यो बेलुका कोहलपुरस्थित काका महेन्द्र नेपालीको घरमा बास बसी र भोलिपल्ट मंसिर १८ गते रुपैडियाबाट गाडी चढ्ने सल्लाहमा हिँडेदेखि अर्जुन हराउनुभएको हो । 

भारतमा मजदूरी गर्ने आफ्नो जेठो दाजु, गाउँकै अरुहरु पनि त्यहीं सुरतमै दर्जनौं साथीभाई, इष्टमीत्र छन् उहाँ त्यहाँ पुग्नु भएन । मंसिर १८ गते रुपैडियाबाट गाडी चढ्ने सल्लाहमा हिँडेदेखि अर्जुन कता हराउन भयो कता ? छ वर्षसम्म खोजी गर्दा कतै पत्ता लाग्न सकेको छैन ।

अर्जुन चाहिँ दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ बिजौराका रामे दमाई र रामकली दमाईका सात सन्तान मध्ये साइला छोरा हुनुहुन्छ । अर्जुनकी एक दिदी, दुई दाजुहरु र उहाँ पछाडि अरु तीन भाइहरु हुनुहुन्छ ।

घरायसी सरसल्लाह, सामाजिक काममा संयुक्त परिवार भए पनि कमाईकाज गर्न र पारिवारिक सम्वन्ध सहजताको लागि ६ भाईहरु मध्ये अरु तीन भाईहरुबुबाआमासंग छोडेर जेठो, माइलो र साइलो अर्जुन चुल्हो छुटिएर बस्नुभएको छ । १८ वर्षको उमेरमा २०७९ असोज २६ गते नारायण नगरपालिका–६ भूर्तीकी हरिमाया नेपालीसंग प्रेमविवाह गर्नुभएको र उहाँहरुको विवाहपछि एक छोरा र एक छोरी हुनुहुन्छ । 

विवाह गरेको पछिल्लो वर्ष २०७० असोज २९ गते छोरा सुनिल र छोरा जन्मेको झण्डै ४ वर्षमा २०७४ असार ६ गते छोरी भगवतीको जन्म भयो । अर्जुन भारत जान लाग्दा छोरी जम्मा ५ महिनाकी थिइन्, छोरा ४ वर्षको थिए तर बोल्दैनथे । बुबा हराएपछि छोरा सुनिलले बोल्न थालेका छन् । 

अर्जुन र हरिमायाको दाम्पत्य जीवन प्रेमिल थियो, अर्जुनले अर्को विवाह गरी कतै लुकी बसेका पो छन् कि ? भनी कसैले सोध्यो भने हरिमायाको ओठे जवाफ आइहाल्छ ‘मेरो श्रीमान् त्यस्तो हुनुहुन्न । कतै केही समस्यामा हुनुहोला, पक्कै भेटिनु हुन्छ ।’

हरिमायाले भन्नुहुन्छ ‘मेरो मन हारेको छैन, उहाँ जीवितै हुनुहुन्छ । पक्कै घरमा आउनुहुन्छ ।’ हरिमायाले यही उच्च मनोबल लिएर छोराछोरीको पालनपोषण, शिक्षादीक्षामा ध्यान दिनुभएको छ । छोरी २ कक्षा र छोरी १ कक्षामा पढ्छन् । 

बालबालिकाको शिक्षादीक्षादेखि घरव्यवहारलाई पनि उत्तिकै ध्यान दिनुभएको छ । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरगत पूर्वाधार कार्यालय दैलेखले दिएको तीन लाख २० हजार अनुदानमा हरिमायाले अघिल्लो वर्ष नयाँ घर बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘श्रीमान् फर्किनुहुन्छ रमाएर बस्ने हो यो घरमा ।’

अर्जुनकी आमा रामकलीलाई पनि लाग्छ छोरा जिउँदै होला । उहाँले भन्नुभयो ‘मरेको मान्छे सपनामा आउने तरिकै फरक हुन्छ, सपनामा आइरहन्छ । चाडपर्व आउँदा धेरै सम्झन्छु, रुन्छु । कोही दिन आइहाल्ला भनेर चित्त बुझाउछु । कलकलाउदा लालाबाला छन्, सम्झना उसलाई पनि आउछ होला ।’ 

जेठा दाजुलाई पनि लागिरहेको छ अर्जुन कुनै केही अप्ठ्यारोमा परेर सम्पर्कमा नआएको हुनसक्छ । जीवितै होला भाई अवश्य आउछ । उहाँको अर्जुनलाई सन्देश छ ‘तिमी जस्तोसुकै अप्ठ्यारोमा भए पनि घरमा आऊ, आमाबुबा र परिवारले अप्ठ्यारो फुकाइदिनेछ ।’      

प्रतिक्रिया