सत्तारुढ दलहरुको असफलता एमाले समेतले दोष खेप्नु परेको छ : पोखरेल

सत्तारुढ दलहरुको असफलता एमाले समेतले दोष खेप्नु परेको छ : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा जनशक्ति बिदेशिने अवस्था रोक्न नसके राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने बताउनुभएको छ । एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलहरुको असफल हुने उनीहरुको कमजोरीले एमाले समेतले दोष खेप्नु परेको उहाँले टिप्पणी गर्नुभयो । 

भारतीय नाकाबन्दी जस्ता किठनाईको बेला नागरिकहरुमा भरोसा जनाउने र देश स्वाभिमान बढाउने काम गरेको बताउदै महासचिव पोखरेलले नेकपा एमालेले सत्ता सञ्चालन अवसर पाए मध्यपहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, हुलाक राजमार्ग, ठूला विद्युतीकरण लगायतका राष्ट्रिय गौरबको आयोजना प्राथमिकता राख्ने बताउनुभयो ।   

नेकपा एमालेका सचिव लेखराज भट्टले पुराना मतभेदलाई त्यागी पार्टीलाई सुदृढ र संगठित बनाउन अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेता कार्यकर्ताहरुसंग आग्रह गर्नुभयो । उहाँले सर्वसम्मत हुन नसके लोकतान्त्रिक पद्धतिबाट स्वस्थ प्रतिस्पर्धाबाट जिल्ला नेतृत्व चयन गर्न पनि पार्टीको विधान सम्मत हुने बताउनुभयो । 

त्यसैगरी नेकपा एमाले पोलिटव्यूरो सदस्य यामलाल कँडेलले देशको कम्यूनिष्ट आन्दोलनलाई संगठित गर्ने क्षमता राख्ने एमाले मात्र भएको बताउनुभयो । नीति, विधि, विचारका आधारमा राम्रो भएको बेला गुठबन्दीलाई महत्व दिए संगठन सकिने अवस्था आउन सक्ने समस्या औल्याउनुभयो ।  

नेकपा एमाले दैलेखका कार्यवहाक जिल्ला अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षमा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, अनेमसंघका केन्द्रीय सचिव मीनासिंह रखाल, पार्टीका जिल्ला सचिव तिलक रिजाल, सहसचिव गंगाराम दाहाल लगायतले जिल्लाको राजनीतिक इतिहास र एमालेको सांगठनिक अवस्था विषयमा बोल्नुभएको थियो । 

उद्घाटन कार्यक्रम आज सकिएको, भोलि बन्दशत्र र पर्सि चाहिँ एक सय तीन जनाको जिल्ला नेतृत्व चयन गर्ने बताइएको छ । 

प्रतिक्रिया