एमाले जिल्ला नेतृत्वको लागि अढाई सय भन्दा बढी उम्मेदवार

एमाले जिल्ला नेतृत्वको लागि अढाई सय भन्दा बढी उम्मेदवार

दैलेख – नेकपा (एमाले) दैलेखको आठौं जिल्ला अधिवेशनको दोश्रो दिन आइतबार पाँच पदाधिकारी सहित ९१ सदस्यीय जिल्ला नेतृत्व चयन गर्न अढाई सय भन्दा बढी उम्मेदवारी दर्ता भएको छ । जिल्ला कमिटी अध्यक्ष पदमा सूर्यबहादुर शाही, प्रेमबहादुर बुढा, नन्दकिशोर बस्नेत र तिलक रिजालको उम्मेदवारी परेको छ । 

प्रमुख निर्वाचन अधिकृत दिपेन्द्र थापाले दिनुभएको जानकारी अनुसार उपाध्यक्ष पदमा रत्नबहादुर खड्का, कलावती न्यौपाने, तर्कबहादुर बडुवाल र श्याम कँडेलको उम्मेदवारी दर्ता भएको छ । सचिव पदमा पनि चार जना उम्मेदवार हिमालयजंग शाह, दुर्गाप्रसाद न्यौपाने, गंगाराम दाहाल र शेरबहादुर रावत खडा हुनुभएको छ । 

खुला उपसचिवमा ९ जना बिष्णुबहादुर शाही, चन्द्र दाहाल, चन्द्रप्रसाद (सीपी) शर्मा, नबिन योगी, पूर्णबहादुर शाही, मीनबहादुर बुढा, हेमन्त दशौंदी, छिताराम बिक र दिपेन्द्र खनाल तथा महिला सहसचिव पदमा पदमा बिष्ट, दुर्गा सिंह, द्रौपति थापामगर र पवित्रा न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । 

नेकपा (एमाले)को विधानले तोकेको मापदण्ड अनुसार संगठित सदस्यता संख्याको आधारमा ११ पालिकाबाट १६ महिला तथा ३२ पुरुष, खुलातर्फ ५ महिला तथा १० पुरुष, दलितमा ३ महिला तथा ५ पुरुष, जनजातिमा २ महिला तथा ३ पुरुष, अल्पसंख्यक १ पुरुष समेत ७७ जना सदस्यका लागि दुई सय १७ जनाको उम्मेदवारी परेको छ । 

त्यसैगरी विधानले तोके अनुसार पहिलो पटक ४० वर्ष मुनिका ९ जना सदस्यका लागि खुलातर्फ २ महिला तथा २ पुरुष, दलितमा १ महिला तथा २ पुरुष, जनजातिमा १ महिला तथा १ पुरुष जिल्ला कमिटी सदस्य पदका लागि प्रतिनिधित्व गर्न २३ जना उम्मेदवारी परेको छ ।  

नेतृत्वको चयनका लागि उम्मेदवारी दर्ता गराइए पनि सर्वसम्मतिको प्रयास पनि भइरहेको जानकारीमा आएको छ । दैलेखमा राजतीतिक नेतृत्वका लागि निर्वाचन क्षेत्र नंं. १ र २ को भेगीयता प्रभाव पर्ने गरेको छ । पार्टी भित्रको गुट र भेगीयताको कारण सर्वसम्मति गर्ने प्रयास असहज बनेको छ । 

सहमति हुन नसके उम्मेदवारहरु मध्ये नाम फिर्ता लिन चाहनेहरुलाई सोमबार विहान ७ बजेदेखि ८ बजेसम्मको समय दिइने र दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत दिपेन्द्र थापाले दिनुभयो । 

प्रतिक्रिया