एमाले दैलेखको जिल्ला नेतृत्व निर्बिरोध चयन, अध्यक्षमा सूर्यबहादुर शाही

एमाले दैलेखको जिल्ला नेतृत्व निर्बिरोध चयन, अध्यक्षमा सूर्यबहादुर शाही अध्यक्ष सूर्यबहादुर शाही
सुन्नुहोस्

दैलेख – नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारी सहित ९१ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको छ । निर्वाचन अधिकृत दिपेन्द्र थापाले दिनुभएको जानकारी अनुसार अध्यक्षमा सूर्यबहादुर शाही, उपाध्यक्ष प्रेमबहादुर बुढा, सचिव हिमालयजंग शाह, सहसचिवहरु ताराकुमारी सोनी र मीनबहादुर बुढा चयन हुनुभएको छ । 

नेकपा (एमाले)को विधानले तोकेको मापदण्ड अनुसार संगठित सदस्यता संख्याको आधारमा ११ पालिकाबाट १६ महिला तथा ३२ पुरुष, खुलातर्फ ५ महिला तथा १० पुरुष, दलितमा ३ महिला तथा ५ पुरुष, जनजातिमा २ महिला तथा ३ पुरुष, अल्पसंख्यक १ पुरुष समेत ७७ जना सदस्यहरुको नाम घोषणा गरिएको छ । 

त्यसैगरी विधानले तोके अनुसार पहिलो पटक ४० वर्ष मुनिका ९ जना सदस्यका लागि खुलातर्फ २ महिला तथा २ पुरुष, दलितमा १ महिला तथा २ पुरुष, जनजातिमा १ महिला तथा १ पुरुष जिल्ला कमिटी सदस्य पदका लागि प्रतिनिधित्व गराइएको छ । 

एमाले महासचिव शंकर पोखरेलले शनिबार उद्घाटन गर्नुभएको अधिवेशनको दोश्रो दिन आइतबार पदाधिकारी र सदस्यहरु समेत अढाई सय भन्दा बढीको उम्मेदवारी परिसकेपछि गुट र भेगीयताको प्रभाव देखिएको भन्दै नेतृत्वले जनवादी केन्द्रीयताको नाम दिंदै नेतृत्वको नामावली घोषणा गरेको थियो । 

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरु यामलाल कँडेल, लक्ष्मी पोखरेल, बिष्णु पौडेल, राजबहादुर बुढा, बिनोदकुमार शाह, कर्णाली प्रदेश कमिटीका उपसचिव रबिन्द्रराज शर्मा लगायतको पहलमा सोमबार र मंगलबार दुई दिन लगाएर उम्मेदवारी दर्ता गराइसकेका सबैलाई उम्मेदवारी फिर्ता लिन लगाई जिल्ला कमिटी गठन घोषणा गरिएको थियो । 

नेतृत्वले सहमति जुटाएको नामावली मंगलबार दिउँसो निर्वाचन अधिकृत दिपेन्द्र थापालाई घोषणा गर्न लगाइएको थियो । सहमतिमा नेतृत्व चयन गर्ने नाममा दर्ता भइसकेको उम्मेदवारी फिर्ता गर्न लगाइएको भन्दै आकांक्षीहरु रुष्ट भएका छन् ।

 पाँच पदाधिकारी सहित ९१ सदस्यीय जिल्ला कमिटी

प्रतिक्रिया