नेपाल प्रहरी श्रीमती संघद्वारा राउटे समुदायलाई खाद्यन्न सहयोग

नेपाल प्रहरी श्रीमती संघद्वारा राउटे समुदायलाई खाद्यन्न सहयोग
सुन्नुहोस्

दैलेख – हरेक २–३ महिनामा बस्ती सार्दै हिंड्ने क्रममा फागुन पहिलो सातादेखि चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडामा बस्तै आएको राउटे समुदायलाई नेपाल प्रहरी श्रीमती संघले ४१ परिवारका लागि हरेक घरधुरीलाई एक–एक बोरा चामल, लगायतका खाद्यन्न र कपडा राहत सहयोग दिइएको छ । 

समुदायको आवश्यकता र राउटे मुखियासंगको सल्लाहमा पुरुषहरुले नसिलाएरै लगाउने गादोे, बालिकाहरुका लागि र महिलाहरु आफैले सियोले सिलाउने कपडा वितरण गरिएको राहत सहयोग समन्वय गरेका दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।  

नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रुपा थापा, सहसचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्षा गंगोल, संघका कर्णाली प्रदेश सहसचिव सुस्मा थापा समेत साँगेतडा पुगेर राउटे समुदायका ४१ परिवारका एक सय ३७ जनालाई उक्त राहत सहयोग वितरण गर्नुभएको हो । 

राहत सहयोग वितरण कार्यक्रममा पुग्नुभएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशबहादुर शाहीले नेपाल प्रहरी श्रीमती संघले राउटेहरुको मुख्य आवश्यकताको आधारमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो । त्यसबखत कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी बीरबहादुर ओलीले राउटेहरुको जनसंख्या घट्ने क्रम रोक्न मदिराको कुलतबाट जोगाउन पर्ने आवश्यकता औंल्याउनुभयो ।   

गएको मंसिर २७ गते दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा बसेको बेला ४१ परिवारका एक सय ४० जना सबैलाई पुग्ने गरी नेपाल प्रहरी श्रीमती संघले न्यानो कपाडा, खाद्यन्न बितरणसंगै स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको थियो । यो दुई महिनामा दुई जन्मेका र पाँच जनाको ज्यान गएको छ, अहिले राउटेहरुको जनसंख्या एक सय ३७ मा झरेको छ ।  

नेपालको एक मात्र फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले नेपाल सरकारले राउटे समुदायलाई दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिका मार्फत पठाउने गर्दछ । 

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ । 

पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् । राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले सहयोग पु¥याइएको राउटे परियोजनाकी अनमी अनुजा पन्तले बताउनुभयो । 

राउटे परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ असार ३० गते राउटे समुदायका त्यसबेला गुराँस गाउँपालिका–८ पातलेखोला बस्तीमै पुगेर एक सय ४९ जना सबैका फोटो सहितको परिचयपत्र दिएको थियो । त्यहींदेखि गुराँस गाउँपालिकाले वडा नं. ८ का बासिन्दाको गणनामा राखी राउटे समुदाय बस्तै सर्दै जहाँ गए पनि त्यही पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । 

त्यतिबेला परिचयपत्र लिंदा राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिंदा ‘अहिले परिचयपत्र त लिन्छौं पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नू’ भनी शर्त राख्नुभएको थियो । राउटे समुदायले आफूहले पढाइलेखाई, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने पुरातन बिश्वास पालेको छ । 

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायी रुपमा बस्तै आएको छ । त्यहाँका राउटे सामान्य जनजीवनमा फर्र्किएको अवस्थामा उनीहरुलाई राउटे मान्न नसकिने दैलेखका राउटे मुखिया सूर्यनारायण शाहीको टिप्पणी छ । ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’ उहाँको तर्क छ ।   
 

प्रतिक्रिया