बिदेश त्यागेर गाउँमै तरकारी खेतीमा जमेका दिनेश

तरकारीबाटै गर्छन मनग्य आम्दानी

बिदेश त्यागेर गाउँमै तरकारी खेतीमा जमेका दिनेश

निर्मल अधिकिारी 

तुर्माखाद गाउपालिका वडा नं १, रहफका ३० वर्षिय दिनेश शाहीको उमेरका अधिकाँस साथीहरु कमाउन कालापहाड जान्छन् भने कोही साउदी अरवको ४५ डिग्री तापक्रममा रातदिन नभनी काम गर्दछन् ।  साथीहरुसँगै उनलाई पनि विदेश जाने रहर नजागेको होइन् । 

विदेश जाने रहर त उनलाई पनि थियो ।  गाउमै बसेर केही गर्ने इच्छा भएका कारण उनले विदेश नगएर गाउमै व्यवसाय गर्ने योजना बनाए । 

उनीसँग ठुलै योजना थिए र सपनाहरु पनि ठुलै थिए । विदेशमा हुने आम्दानी जत्तिकै कमाउन पनि गाउमा मुश्किल थियो । सानो लगानीबाट धेरै आम्दानी गर्न नसकिने र ठुलो लगानी गरे घाटा हुन्छ कि भन्ने डरले धेरै ठुलो व्यवसाय गर्न आँट गरेनन् । सानो लगानीबाट कम प्रतिफल प्राप्त भए पनि व्यवसाय जोखिममा पर्ने सम्भावना न्यून भएकाले उनको रोजाई तरकारी खेती भयो । तर उनी सँग तरकारी व्यवसाय गर्नका लागि आधुनिक प्रविधि र कृषि ज्ञानको अभाव थियो । 

सोसेक नेपालको ग्रिन कर्णाली परियोजनाले गाउमै बसेर केही गर्न चाहने युवाहरुको लागि व्यवसायीक योजना निर्माणका साथै कृषि ज्ञान र आधुनिक प्रविधिको बारेमा  जानकारी गरायो । कृषि सम्बन्धीको जानकारीले उनलाई गाउमै बसेर केही गर्ने थप हौसला मिल्यो । 

न्यून लगानीमा आम्दानी राम्रो हुने देखेपछि उनले च्याउ खेती गर्ने योजना बनाए । च्याउ खेती सँगै तरकारी खेती पनि गरे । तल्लो डुङ्गेश्वर बजार नजिक भएकाले तरकारी विक्रिको समस्या थिएन् । तरकारी लिन ग्राहक बारीमा आफै आउने गर्थे ।  तरकारी राम्रो सँग उत्पादन गर्ने हो भने विक्रि गर्नका लागि समस्या छैन् । स्थानीय बजारमा विक्रि नभएको तरकारी सुर्खेत र कालिकोट सम्म पनि पठाउन सकिन्छ । 

उनले थपे, घरायसी व्यवहार चलाउनका लागि बैकबाट लिएको ५० हजार ऋण तरकारी विक्रि गरेर चुक्ता गरे । विदेश जान्छु भन्नेलाई जतिपनि गाउँमा ऋण पाईने तर गाउँमै बसेर केही गर्छु भन्नेको लागि ऋण पनि पाउन मुश्किल हुने गरेको उनको तितो अनुभव छ । बैकबाट सस्तो ब्याजदरमा ऋण लिनका लागि झण्झटीलो प्रक्रिया भएका कारण अधिकाँसले स्थानीयस्तरमै ऋण खोजी गर्ने उनको भनाई थियो । 

तरकारी खेतीबाट राम्रै आम्दानी गर्न सफल भएका शाहीको रुची अहिले च्याउ खेतीमा बढेको छ । च्याउनले बजारमा मूल्य राम्रै प्राप्त गर्ने र आम्दानी पनि छिटो लिन सकिने भउको हुदाँ च्याउखेती व्यवसायप्रति उनको रुचि बढेको हो । संस्थाले व्यवसायीक रुपमा च्याउ उत्पादन गर्न बिऊ र प्लाष्टिक टनेल उपलब्ध गराएको थियो । बाँस, पराल लगाएतका कच्चा पदार्थ र श्रमको व्यवस्था आफैले गरे । उनीसँग अहिले च्याउ उत्पादनका लागि ८७ मुढा छन् । एउटा मुढाबाट तिन पटक सम्म उत्पादन लिन सकिने उनले बताए । प्रतिमुढा ६ के.जी. सम्म उत्पादन गर्न सक्ने हो भने सबै खर्च घटाएर १ लाख आम्दानी गर्न सकिने उनको भनाई थियो । 

उनले थपे, म विदेश जाउँ भने पनि जान सक्थे । मेरै छिमेकका धेरै साथी भाईहरु विदेश गएर दुःख पाएका छन् । विदेशमा गरिने जति दुःख यतै गर्ने हो भने कसो जिन्दगी निर्वाह गर्न नसकिएला भनेर गाउमै बसे । हामी सँग बाझो जग्गा  धेरै छ । परिवारमै बसेर दुःख सुखमा साथ दिन पाईन्छ । गाउँमै बसेर केही गर्नका लागि उनले आफु जस्तै अन्य युवाहरुलाई आग्रह गरे । 

प्रतिक्रिया