अल्पसङ्ख्यक समुदायका समस्या उठाउनुपर्नेमा सम्पादकहरूको जोड

अल्पसङ्ख्यक समुदायका समस्या उठाउनुपर्नेमा सम्पादकहरूको जोड

बाँके -  अल्पसङ्ख्यक समुदायका सवाललाई स्थानीय सञ्चारमाध्यममा उठाउनुपर्नेमा  सम्पादकहरूले जोड दिएका छन् । उनीहरूले अल्पसङ्ख्यक समुदायका मुद्दा ‘गम्भीर र संवेदनशील’ भन्दै ती विषयमा निरन्तर कलम चलाउन आह्वान गरेका छन् ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजनाअन्तर्गत मङ्गलबार आयोजित ‘फेलो’ पत्रकार र सम्पादकबीचको अन्तरसंवादमा अल्पसङ्ख्यक समुदायभित्रका महिला, बालबालिका र बालविवाहका मुद्दा गम्भीर र संवेदनशील भएका  सम्पादकहरूले बताएका थिए । 

नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वसभापति तथा गोरेटो अनलाइनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त सङ्घर्ष गर्न सक्ने, विचार प्रवाह गर्न सक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भन्नुभयो ।

महासङ्घ बाँकेका पूर्वअध्यक्ष तथा दैनिक नेपालगञ्जका प्रधानसम्पादक झलक गैरेले अल्पसङ्ख्यक समुदायका पत्रकारहरूलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेसा अन्य पेसाभन्दा फरक भएको बताउनुभयो । उहाँले अल्पसङ्ख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गर्नुभयो ।

कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषयवस्तुको गहिराइमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसङ्ख्यक समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो

अवधी पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अल्पसङ्ख्यक समुदायको सशक्तीकरणले यो समुदाय ‘मिडिया’को मूलप्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगोरूपमा लाग्ने काम सहज नभएको बताउनुभयो । 

त्यस अवसरमा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादवले अल्पसङ्ख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचारमात्र प्रकाशन हुनुपर्ने बताउनुभयो ।

  उहाँले ग्रामीण क्षेत्रका जनजीविकासँग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाले सञ्चालन गरेको परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीबाट थारू र अवधीभाषी १५ जना पत्रकारले विभिन्न सवालमा खोजमूलक समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरेका छन् । 

प्रतिक्रिया