मौलिक सम्मान : सम्मानितहरुलाई मात्र कुर्ची

मौलिक सम्मान : सम्मानितहरुलाई मात्र कुर्ची

दैलेख – सभा कुनै औपचारिक होइन । तर मौलिक र सन्देशमूलक छ । दैलेखको जिल्ला सदरमुकामको देवकोटा चोक नजिकै खुला ठाउँमा सात जना साधारण भूमिका व्यक्तिहरुका लागि मात्र कुर्ची राखिएको छ । नारायण नगरपालिकाका मेयर लोमन शर्मा र ज्येष्ठ नागरिक संघ दैलेखकी संस्थापक इन्दिरा थापा पछिल्तिर उभिनुभएको छ । 

मेयर र ज्येष्ठ नागरिक समाजको अगुवाई गरिरहेकी अधिकारकर्मी लगायत सहभागी सबै उभिनुभएको थियो, सात जनालाई मात्र कुर्चीको प्रवन्ध गरिनुको मुख्य उद्देश्य ‘उच्च सम्मान’ दर्शाउन यसो गरिएको हो । कुर्ची बसालिएका व्यक्तिहरु नारायण नगरपालिकाका सरसफाई कर्मचारीहरु हुनुहुन्छ । 

झरी–बर्खा, जाडो वा गर्मी मौसम भन्न नपाइने, आफूलाई सञ्चो वा बिसञ्चो, घरायसी व्यस्तता वा चाडपर्व जेसुकै होस् नगरपालिकाका सरसफाई कर्मचारीले बजारको फोहोर उठाएर सफासुग्घर राखेको यति महत्वपूर्ण कामलाई सम्मान गर्न समाजसेबी थापाले सम्मान गर्न यो प्रवन्ध गर्न भएको हो ।

सम्भवतः कसैले ध्यान नदिएको सरसफाईको महत्वपूर्ण काम गरेका भन्दै समाजसेबी ७९ वर्षीया इन्दिरा  थापाले सरसफाई कर्मचारीहरुको योगदानको कदर गर्दै सम्मान तथा पुस्कार वितरण गर्न तय गर्नु भएको कार्यक्रममा सम्मान पाउनेहरुलाई कुर्ची ससम्मान राखिएको र अरु सबै उभिनुभएको हो । 

नारायण नगरपालिकाका सरसफाई कर्मचारीहरु पाँच जना कुचीकारहरु नमराज सार्की, मानबहादुर सुनार, सुजन खत्री, घनश्याम सार्की, थीरबहादुर थापा, सरसफाईमा प्रयोग भएका टिपर चालकहरु पुस्कर थापा र टेकबहादुर चन्दलाई सम्मान गरिएको हो । 

सातै जना सम्मानितहरुलाई समाजसेबी थापाले फूलको गुच्छा हात पार्दै खादा ओडाई दिनुभयो अनि सबैको हातमा पाँच सय पच्पन्न रुपैंयाँ नगद राखिएको एक–एक वटा खाम हातमा थमाउनुभयो, मेयर शर्मालाई सबै जना सरसफाई कर्मचारीहरुलाई सम्मान स्वरुप अबिर टीका लगाइदिनुभयो । 

सम्मानित भइसकेपछि उहाँहरु सबैलाई आफ्नो भनाई राख्न मौका दिइएको थियो । कुचीकार घनश्याम सार्कीले भन्नुभयो ‘कोरोनाको बेला समेत जोखिम मोलेर सरसफाई ग¥यौं तर कसैले सम्झन नसकेको बेला हजूरआमाले सम्मान गरेकोमा आफूहरुलाई खुशी लाग्यो ।’

कार्यक्रममा कुचीकार मानबहादुर सुनारले सडक सफा गर्न निहुरिएर सानो कुचोले बडार्न परिरहेको भन्दै उभिएरै बडार्न मिल्ने कुचो सजिलो हुने मेयर शर्मालाई समस्या दर्शाउनुभयो । चालक पुस्कर थापाले नगरबासीहरुले फोहोरमा सिसा र घातक चिज समेत मिसाइँदिंदा बेलाबेला घाउ, चोटपटक लाग्ने गरेको दुखेसो सुनाउनुभयो । 

नगरपालिकाका सरसफाई कर्मचारीहरुका दुखेसो सुनेपछि ज्येष्ठ नागरिक संघ दैलेखकी संस्थापक इन्दिरा थापाले सरसफाई कर्मचारीहरुको निम्ति सेवा–सुविधा र पीरमर्का सुनुवाइ हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘मेयर साबलाई बोलाएको पनि पीरमर्का सुनाउनलाई हो ।’

समाजसेबी थापाबाट सम्मान गरिएका नगरपालिकाका सरसफाई कर्मचारीहरु बसेको कुर्ची पछिल्तिर झण्डै आधा घण्टा उभिएर सहभागिता जनाउनुभएका नारायण नगरपालिकाका मेयर लोमन शर्माले समाजसेवी थापाको रचनात्मक कामको प्रशंसा गर्दै नगरपालिकाका सरसफाई कर्मचारीहरुको सुविधामा ध्यान दिने बचन दिनुभयो ।  

इन्दिराका चार सन्तानमा एउटा मात्र छोरी ज्ञानु अधिकारी काठमाण्डौंमा गृहिणी, जेठो छोरा राम थापा फुल्टेक्रा आँखा अस्पताल नेपालगञ्जको नेत्र चिकित्सक, माईलो छोरा मोहन थापा बेल्जियममा रोजगारी र कान्छो मनोज थापा दैलेख सदरमुकाममा फैन्सी पसल चलाउनुभएको छ । 

२६ वर्ष अघि ५४ वर्षको उमेरमा श्रीमान शेरबहादुर थापाको निधन भएको हो । कट्टी जिम्वाल खड्काकी छोरी दैलेख सदरमुकाममा जाहारकोट थापा खलकमा विवाह भए पनि जातीय विभेद, महिला हिंसा लगायतका असमानता बिरुद्ध सधैं जुटिरहनुभएकी इन्दिरा ज्येष्ठ नागरिक संघ नेपालको दैलेख शाखाको संस्थापक अध्यक्ष, ग्रामीण महिला उत्थान केन्द्र संस्थाको अध्यक्ष लगायत सामाजिक अगुवाई गर्दै आउनुभएको थियो । 

उहाँलाई सन् २०२० मा संयुक्त राष्ट्र संघले दैलेखका लागि यूएनदूत मनोनयन गरेको थियो । देशका ७७ जिल्लामा एक–एक जना ज्येष्ठ नागरिकलाई यूएनदूत मनोनयन गर्ने क्रममा उहाँलाई छानेको थियो । सन् २०४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएको वर्ष जन्मेका मध्ये सामाजिक योगदान भएका एक जिल्लामा एक जना यूएनदूत मनोनयन गरेको थियो । 

माईलो छोराका परिवारलाई भेट्न बेल्जियम पुगेको बेला त्यहाँ तल्लो तहमा काम गर्नेहरुलाई अझ बढी इज्जत–कदर गर्ने गरेको देखेर आफूले नगरपालिकाका सरसफाई कर्मचारीहरुलाई सम्मान गर्ने सोचाई आएको सुनाउनुभयो । ‘पाँच–सात वर्षदेखि आउजाउमा अरुबेला अरु कुरा सिकें । यो पटक साना भनिएकाहरुलाई सम्मान गर्ने सोचें’ उहाँले भन्नुभयो ।  
 

प्रतिक्रिया