कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने
![कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने](https://snowberry.prixacdn.net/media/gallery_folder/khopa-dadura_6VsIdAQAGF_se6vpef7jicbnaa1neydk8juvmjhtqujfpwcxaefzwzcahj7e0c70cnxnhht_t0vdOTWtuL_c7d7qrmfuohv3edmqafb47n8sd0fr1gvewxgnvmto9wl7zps3xlzw6wgkmnx.webp)
कालीकोट - कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ ।
पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरु गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।
यस्तै रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उहाँको भनाइ छ ।
यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार नौ सय छ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया