हत्या आरोपमा एक जना पक्राउ

हत्या आरोपमा एक जना पक्राउ

रुकुम -  पश्चिममा हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा सोही वडाका २३ वर्षीय डिल्लीरमण खड्का पक्राउ परेका हुन् । 

उनलाई रगत जस्तो रातो पदार्थ लागेको चप्पल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो  । खड्काको नेतृत्वमा खटिएको प्रहरीले टोलीले शुक्रवार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । 

हत्या आरोपी डिल्लीरमणले सामान्य विवादमा उत्तिसको दाउराले हस्तरामको टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

डिल्लीरमण लगायतका स्थानीय युवा सडक छेउमा रक्सी खाँदै आगो तापेर बसिरहेको अवस्थामा हस्तराम पनि त्यही आएर आगो तापेको र पछि अन्य साथीहरू घर गइसकेपछि हस्तरामले नाति पर्ने डिल्लीरमणलाई किन रक्सी खान्छस् भनेर सम्झाउँदा घटना भएको देखिएको प्रहरी निरीक्षक खड्काको भनाई छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा तत्कालीन विवादकै कारण घटना भएको देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिल्लीरमणले रक्सी खाएको र हस्तरामले समेत रक्सी खाएको पाइएको छ । उनीहरू आफन्त हुन् । उनीहरूका बिचमा बाजे नातिको साइनो रहेको प्रहरीले जनाएको छ ।

आरोपी खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । हस्तराम शुक्रवार बिहान साढे ६ बजेतिर मुसिकोट १२ जुम्लावाङ बुगेरी स्थित बैरागीठाँटी देखि त्रिवेणी तर्फ जाने सडकको छेउमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

टाउकोमा चोट लागेको देखिएपछि प्रहरीले हत्या भएको हुनसक्ने अनुमान सहित अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया