लोक गायक कँडेल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता
काठमाडौँ - लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गर्दै महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी छिन् ।
ती पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीका लागि फिराद दर्ता गराएकी काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयाे ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशाकर्मीसंग करणी सम्बन्धी कसुर गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
संहिताको दफा २२४ मा यौन दुर्व्यवहार गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । पीडित महिलाले ऐनका यी दफाहरुमा टेकेर आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको उल्लेख गरी सजाय गरी क्षतिपूर्ति समेत दिलाई पाउन माग गरेकी हुन् ।
प्रतिक्रिया