अबको लक्ष्य गरिबी बिरुद्धको लड्ने हुनुपर्छ : मन्त्री गुरुङ्ग

अबको लक्ष्य गरिबी बिरुद्धको लड्ने हुनुपर्छ : मन्त्री गुरुङ्ग

दैलेख – कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले देशको साझा सत्रु गरिबी रहेकोले अबको लक्ष्य गरिबी हटाउने हुनुपर्ने बताउनुभएको छ । कर्णाली प्रादेशिक औद्योगिक ब्यापार मेला तथा दैलेख महोत्सव उद्घाटन कार्यक्रममा बिहीबार दैलेखमा उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री गुरुङ्गले गरिबी, अशिक्षा, बेरोजगारी, शोक, भोक, बिकृति र बिसंगति हटाएर देश विकासमा जुट्न सबै राजनीतिक दलहरुको मुख्य उद्देश्य हुनुपर्ने सुझाव राख्नुभयो । पश्चिम नेपाल विकासपछि परेको भन्दै दैलेख पनि यसबाट अछुतो नरहेको उल्लेख गर्दै विकृति, विसंगति र भ्रष्टाचार हटाउन प्रतिस्पर्दा गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण काम नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विदेशी बजारसम्म पु¥याई आउने रोयल्टीले दैलेखको विकासमा कायापलट हुने मन्त्रीले बताउनुभयो । 

मन्त्री गुरुङ्गले निर्माण भइरहेको नेपालगंजदेखि सुर्खेत–दैलेख, महावु हुँदै जुम्ला–मुगु, नाग्चेनाग्लासम्मको त्रिदेशिय सडकको तिब्रता लागि बजेट विनियोजन भएको उल्लेख गर्दै दैलेखका विकास निर्माणको विषयमा आफू सधैं सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।  

दैलेख महोत्सवले कर्णाली प्रदेशभरको उत्पादनलाई देशविदेशमा चिनाउन र पर्यटन प्रर्वधन गर्न कोशेढुंगा हुने महोत्सवका संयोजक तथा दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो । 

महोत्सव उद्घाटन कार्यक्रममा संघीय संसद प्रतिनिधिसभाका सांसदहरु दिक्पालकुमार शाही, अम्मरबहादुर थापा, सीताकुमारी राना, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसी, प्रदेश साँसदहरु घनश्याम भण्डारी, पूर्णबहादुर खत्री लगायतका जनप्रतिनिधि, दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायत सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु समेतको उपस्थिति थियो । 

जिल्ला सदरमुकाम दैलेखबजारको काँडाचौर परिसरमा सुरु भएको दैलेख महोत्सव उद्घाटन कार्यक्रममा जिल्लाका पहिचान बोकेका मयुर नाँच, पैसेरी नाँच, मारुनी नाँच, तलवार नाँच, लाखे नाँच लगायतका झाँकी र कला संस्कृति प्रर्दशन गरिएका थिए । 

महोत्सव स्थलमा व्यापारी व्यवसायीहरु दैनिक उपयोगी बस्तु, दैलेखका स्थानीय उत्पादन, कला सँस्कृति प्रदर्शनीका स्टलहरु राखिएका छन् । महोत्सव स्थल हातामा बाल उद्यान समेतका खेलहरुसंगै स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तूती रहने आयोजक दैलेख उद्योग बाणिज्य संघले जनाएको छ । 
 

प्रतिक्रिया