विद्यालयलाई एक करोड सहयोग जुट्यो
![विद्यालयलाई एक करोड सहयोग जुट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/School_GMNahkTDDk_wshzmw02ncew4jvnqpvwtcn7rjeuidgw6xax7kxnoy8njjd45ymnyobp6s1k_NVuLgFIOtF_kr02qodhxbwhvyf6shxe78jeroa2i9a0l4yhwclixlidga5ny83wisbscrea_GlmSYOvF0U_do1tkdwscnauajhu7kkzbytf8h18be0fptpchakbqmnh4cksfiia7fjc2gnr_Mi5eOxxcm6_id4bhtbe0c3qy7d3s87zubxek7gk2p1dpxi50m7hzmncqmkllzdn7bpbkakm_TFWacqz3mT_poi8kvurrzkhkdsnnv2ynwconxwoimtjrvq3cftqmj2nkwxmz2dhgkk8hiul_qLn7eBbRc5_t9cd6kwpgdq3hs1qjkwdroqefgrziagsun0x7qfusqvubgeyqkwvh0rvg5h7_H0v69KKrjd_7w7gyzvpug6exnejuhsih19wsubpdzgzfawcsfucd0rymskp7po6i9kfa5e8_7MS3lRFN2h_4oo27prk96oj1crpmeppc8bj3cx7urbpzw0jjpqm1ggeuv59dwfls7j01vie_ngrjnbokOu_6vqfc2ubrwqhl7oamah4mvaknnjldqx0pgos7cobuwmzt2ssxptuqm173rtm.jpg)
म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पूनःमिलन अभियान मार्फत सो रकम सङ्कलन भएको हो ।
विसं २०७४ देखि थालिएको उक्त अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणी सापकोटाले रु नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।
सङ्कलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँकै विद्यालयमा दश जोड दुईको पठनपाठन सञ्चालन भएपछि विपन्न बालबालिकालाई पढ्नका लागि डेरा लिएर बस्नुपर्ने समस्या हटेको छ ।
दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म दुई सय सात जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका–४ बास्कुना घर भई हाल न्युजिल्याडमा रहनुभएका लालबहादुर केसीले सबैभन्दा बढी रु २५ लाख सहयोग गर्नुभएको संयोजक सापकोटाले जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहनुभएका उहाँले हजुरआमा गौमति खत्रीको स्मृतिमा सो रकम सहयोग गर्नुभएको हो ।
विद्यालयमा हाल करिब दुई सय ५० विद्यार्थी अध्ययनरत छन् । श्रवण क्षमता नभएका बालबालिकालाई लक्षित गरेर बहिरा स्रोत कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया