जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता
![जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/paisa_Z9GHQB9zaa_tmsnhuik9imghpsbdxnbdaobv0rsue9n7cpjd1wp0rfjmozxn1cxk50lynuo_GBvLbR57sa_6e29apqyida7vdjkojztfubn2prhz33tvkf4ovsg5vtqq4v7xvlbalyof7mr_hMH4ro8vYY_fcemjv8jqvjp6jzrszzrqpxo0ucvxbug1r8zzhetntsqydzmuvbb38yzvngn_IvajT2RCRY_a1tf6khfyroy2kmczqzbvev7khton94tvuucmnbaflzalfn5epjlvfsozivo_3NQnXXjwcK_0p4iouonfdltkq21vywq49csi5rtnhgbwxggwdsi3oyjyamapvxdgzrvxbar.jpg)
रुकुमपश्चिम - गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् ।
अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
सहायक प्रजिअ बढुवालले छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ९० लाख ५० हजार पठाएको छ ।
जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया