कांग्रेस र माओवादीबीचको असमझदारीले सङ्कटमा गठबन्धन

कांग्रेस र माओवादीबीचको असमझदारीले सङ्कटमा गठबन्धन

काठमाण्डौ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो ।

कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थाल्नुभएको छ । माओवादीसँगको गठबन्धन जोगाउन कांग्रेसले पनि पहल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

यही बीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो । तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल बढाउनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया