सल्यानमा आत्महत्या रोकथामका लागि सचेतना अभियान
सल्यान - आत्महत्या रोकथाम, न्यूनीकरण तथा सचेतनाका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले अभियान सुरु गरेको छ । मानसिक स्वास्थ्यमा समस्या आउँदा आत्महत्याका घटनामा वृद्धि आएको भन्दै जिल्लाका ८३ वटै वडामा पुग्ने गरी आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक विशेष अभियान सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रत्येक वर्ष औसत ५६ जनाले आत्महत्या गर्ने गर्दछन् । चालु आर्थिक वर्षमा मात्र पुरुष १२, ९ महिला, ३ बालक र ६ बालिका गरी २९ जनाले आत्महत्या गरी सकेका छन् ।
संंख्याका हिसाबले सबैभन्दा बढी शारदा नगरपालिकामा र सबैभन्दा कम सिद्ध कुमार गाउँपालिकामा आत्महत्याका घटना घटेको भएता पनि जनसङ्ख्याका अनुपातमा सबैभन्दा बढी कपरकोट गाउँपालिका र सबैभन्दा कम बागचौर नगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताउनुभयो । उहाँका अनुसार महिलाको तुलनामा जिल्लामा पुरुषको आत्महत्या गर्नेको दर बढी रहेको छ भने ५० वर्ष बढी उमेर समूहका मानिसले आत्महत्या गर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८मा ७१, आ.व.२०७८/०७९ मा ५३, २०७९/०८० मा ४५ र २०८०/०८१ को हालसम्म २९ गरी १९८ जनाले आत्महत्या गरेका छन् जसमा १४९ झुन्डिएर र ४९विष सेवन गरेको पाइएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो तीन वर्षको तथ्याङ्कलाई केलाउँदा आत्महत्या गर्नेको सख्यामा कमी देखिए पनि सचेतनामूलक कार्यक्रमलाई अझै बढाउनु पर्ने देखिन्छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले आत्महत्या गर्ने व्यक्तिाहरुमा एक मात्र कारण नभई जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय पक्षहरूको जटिल अन्तरक्रियाको उपज आत्महत्या भएको बताउनुभयो । आत्महत्या गर्ने व्यक्तिहरू मध्ये ९० प्रतिशत व्यक्तिहरू कुनै न कुनै मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको बताउनुभयो ।
डिआइजी आचार्यले आत्महत्या मानसिक स्वास्थ्य सँग जोडिएको विषय भएकाले यसलाई सबैले बुझ्नु पर्ने बताउनुभयो । लापरबाही र मनोरोगीका कारण मानिसहरूले आत्महत्याका बाटो रोज्ने भएकाले अकालमै ज्यान गुमाई रहेको बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा ३ वर्षको अवधिमा १ हजार १ जनाले आत्महत्या गरेका छन् । उहाँका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ३ सय ३९, २०७८/७९ मा ३ सय ८९ र ७९/८० मा २ सय ७३ जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो । यस आर्थिक वर्षको साउन देखि अहिले सम्म प्रदेशभर १ सय ७७ जनाले आत्महत्या गरेका छन् ।
औसतको रुपमा हेर्ने हो भने कर्णाली प्रदेशमा वार्षिक ३ सय १० जनाले आत्महत्या गर्ने गरेका छन् । कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा सुर्खेत पहिलो स्थानमा रहेको छ भने सुर्खेत पछि सल्यान दोस्रो स्थानमा रहेको छ । आत्महत्या गर्नेले आफूलाई सखाप पार्ने मात्र नभएर परिवार समाजलाई असर पारिरहेकाले यसलाई कम गर्न प्रहरी अभियानको रुपमा लागेको बताउनुभयो । समस्याको रुपमा रहेकाले आत्महत्यालाई न्यूनीकरण गर्न प्रहरी एक्लैको मात्र सम्भव नभै समुदाय र समाजको महत्त्वपूर्ण योगदान रहेको डिआइजी आचार्यले बताउनु भयो ।
प्रतिक्रिया