उद्यम गरिरहेका व्यक्तिलाई प्रोत्साहन गर्न औद्योगिक प्रदर्शनी
रुकुमपश्चिम - उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जिल्लामा व्यावसायिक रूपमा उद्यम गरिरहेका व्यक्तिलाई प्रोत्साहन गर्न औद्योगिक प्रदर्शनी प्रतियोगिताबाट पुरस्कृत गरेको छ ।
जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आयोजना गरिएको ‘रुकुम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव’को अवसरमा उद्यमीले निर्माण गरेका विभिन्न सामग्री प्रदर्शनमा राखिएको थियो । सोही प्रदर्शनीको आधारमा उद्यमीलाई नगद सहित पुरस्कृत गरिएको हो ।
महोत्सवको अवसरमा उद्यमीहरूले निर्माण गरेका सामग्रीको प्रचार हुनका साथै उद्यमीलाई आर्थिक रूपमा फाइदा हुने भएकाले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले स्टल बापत लाग्ने खर्च, आउजाउको समेत खर्चको व्यवस्था मिलाएको थियो ।
यसले गर्दा व्यावसायिक रूपमा उद्यमी गरिरहेका उद्यमीलाई थप हौसला बढ्ने र खाली बसेका व्यक्तिलाई पनि उद्यम तिर प्रेरित गर्न जिल्लामा सञ्चालित ११ उद्यमीलाई महोत्सवमा समेटिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मानबहादुर खत्रीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका ११ उद्यमीले उत्पादन तथा निर्माण गरेका सामग्री प्रदर्शनीमा राखेका थिए । ती उद्यमी मध्ये त्रिवेणी अल्लो कपडा उद्योगका ठानबहादुर बुढाथोकी प्रथम हुनुभएको छ । त्यस्तै त्रिवेणी २ सिम्रुतुमा रहेको मङ्गल मादल उद्योगका सञ्चालक मङ्गल वादी दोस्रो हुँदा मुसिकोट नगरपालिका ५ सेरिगाउँमा रहेको खड्का मुढा उद्योगका वीरबहादुर खड्का तेस्रो हुनुभएको हो ।
प्रदर्शनीमा प्रथम हुनुभएका बुढाथोकीलाई ३० हजार, दोस्रो हुनुभएका वादीलाई २० हजार र तेस्रो हुनुभएका खड्कालाई प्रोत्साहन स्वरूप १० हजार रुपैयाँ सहित प्रमाणपत्र वितरण गरिएको प्रमुख खत्रीले जानकारी दिनुभयो । प्रदर्शनी मेलामा जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा सर्वसाधारण लगायत सरोकारवाला निकायहरूलाई पनि जानकारी बनाएको थियो ।
उद्यमीहरूलाई प्रोत्साहन गर्न कार्यालयले रु ३ लाख बजेट विनियोजन गरेको र सोही रकमबाट प्रदर्शनी प्रतियोगिताको व्यवस्थापन गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रतिक्रिया