भगवतीमाई गाउँपालिकामा लोकगीत र नृत्य प्रतियोगिता
![भगवतीमाई गाउँपालिकामा लोकगीत र नृत्य प्रतियोगिता](https://snowberry.prixacdn.net/media/gallery_folder/20240307_174500_C70NNnrT1O_3a9zrgpi9ekz8dnctbbbwl8bnmym4kybfq7fowsnx0ttawdtjhslmqpuonsu_uOXzE3xzf3_gxjzbo77r5nnddbxyanfectotlgfsw3cbzih36gjwfbcpq16cfqg8fyvfbee.jpg)
भगवतीमाई गाउँपालिकाले मुकाम बेस्तडा बजारमा आज पालिका स्तरीय बालविवाह रोकथाम तथा मर्यादित महिनावारी सवालको जनचेतनामूलक लोकगीत तथा नृत्य प्रतियोगिता गरेको छ । ११४ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा भगवतीमाई गाउँपालिका वडा नं. १ को शिवपुरी आमा समूह प्रथम, वडा नं. २ को सक्रिय महिला समूह दोश्रो, वडा नं. १ को नयाँमालिका आमा समूह तेश्रो र वडा नं. २ को तिदूडाँडा आमा समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा बिजयी समूहहरु मध्ये प्रथमलाई आठ हजार, दोश्रोलाई छ हजार, तेश्रोलाई चार हजार, सान्त्वना स्थान पाएकालाई दुई हजार पुरस्कार र प्रमाणपत्र दिइएको थियो । प्रतियोगितामा ११ वटा समूहले बालविवाह रोकथाम तथा मर्यादित महिनावारी सवालमा लाेकगीत र नृत्य प्रस्तूत गरेका थिए ।
पुरस्कार वितरणपछि कार्यक्रमका भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले विना भेदभाव सशक्त आवाज उठाएमा महिलाहरुले हक पाउन सक्ने बताउनुभयो । त्यसबखत अध्यक्ष थापाले भगवतीमाई गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउन लागेको उल्लेख गर्दै योजनामा समेटिनुपर्ने महिला तथा बालबालिका सवालका विषय सुझाव दिनु आग्रह गर्नुभयो ।
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काको अध्यक्षतामा भएको अन्तरराष्ट्रिय महिला दिवस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य मायाराम अधिकारी, एकीकृत माओवादी निकट अनेमसंघ दैलेखका जिल्ला अध्यक्ष पद्मा शाही, नेपाली काँग्रेसका कृष्णप्रसाद अधिकारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सोसेक नेपालका बाल प्रायोजन तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाका कार्यक्रम संयोजक बासुदेव उपाध्याय, जिल्ला समन्वय समितिकी सदस्य कोकिला खड्का, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य मनिषा सोनी, साधना महिला सहकारी संस्थाका अध्यक्ष दुर्गा थापाले अन्तरराष्ट्रिय महिला दिवसको महत्व र महिला जागरणको विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यस अवसरमा सोसेक नेपालका बाल प्रायोजन तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाका कार्यक्रमको सहजीकरणमा पालिका स्तरीय बाल सञ्जालले बालविवाह रोकथाम तथा बाल श्रम न्यूनीकरण सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेको थियो ।
पालिका स्तरको अन्तरराष्ट्रिय महिला दिवस मनाउने कार्यक्रमका लागि खानेपानी सम्बन्धी काम गरिरहेको सुस्वा परियोजना, सोसेक नेपाल, सीबीओ महासंघ, कारितास, वल्र्ड भिजन इण्टरनेशनल, वाम लगायतका विकास साझेदारहरुले सहयोग गरेका थिए ।
प्रतिक्रिया