रुकुम जिल्ला अदालतको प्रगति ३७ प्रतिशत
रुकुम - जिल्ला अदालत रुकुम पश्चिमले आर्थिक वर्ष २०८०र०८१ को फागुनसम्म ३७ दशमलव ४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । आज अदालतले कार्य सम्पादनको वार्षिक लक्ष्य र प्रगतिको बारेमा जानकारी बनाउन पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी बनाएको हो ।
जिम्मेवारी सरेर आएका १ सय ६६ र यसै आर्थिक वर्षमा नयाँ दर्ता भएका ३ सय ९ गरेर हालसम्म ४ सय ७५ मुद्दा जिल्ला अदालतमा छन् । त्यस मध्ये २ सय २ अर्थात् ३७ दशमलव ४ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीले बताउनुभयो ।
उहाँका अनुसार वार्षिक फर्छ्यौटको लक्ष्य ५ सय ५० राखिएकोमा फागुनसम्म २ सय २ वटा मुद्दा फर्छ्यौट भएका हुन् । लक्ष्यको ३७ दशमलव ४ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फर्छ्यौट भएको उहाँले बताउनुभयो । अव २ सय ७३ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।
जिल्लामा कर्तव्य ज्यान मार्ने, सम्बन्ध विच्छेद, बालविवाह र घरेलु हिंसाका मुद्दा बढी हुने गरेका स्रेस्तेदार शाहीले बताउनुभयो । त्यसमा सम्बन्ध विच्छेदका घटना झन् बढी रहेको उहाँले बताउनुभयो । दर्ता भएका मध्ये ३७ प्रतिशत भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता रहेका छन् । बिदेसिनु, सानै उमेरमा पढाई छोड्नु, बालविवाह गर्नुले पनि सम्बन्ध विच्छेदका घटनामा कमी आउन नसको उहाँको भनाई छ ।
घरेलु हिंसाका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको पाइएको छ । सम्बन्ध विच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केही मुद्दामा चाहेर पनि मिलापत्र गरेर पठाउन नसकिएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताउनुभयो ।
अदालतबाट सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिलहरूलाई विद्युतीय माध्यमद्वारा संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालन ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको समेत सूचना अधिकारी कोइरालाले बताउनुभयो ।
प्रतिक्रिया