क्रिकेट रंगशालासँगै सुर्खेतमा देउडा पार्क बन्ने
सुर्खेत - कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा नयाँ क्रिकेट रंगशाला निर्माण हुने भएको छ । बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रस्तावित इन्डोर र आउटडोरसहितको क्रिकेट रंगशाला र देउडा पार्क निर्माणको सुरु गरेका हुन् ।
कर्णाली प्रदेश खेलकुद विकास परियोजनामार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाडौंले निर्माण जिम्मा लिएको छ । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो । यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ ।
चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, क्रिकेट पिज निर्माण र इन्डोर क्रिकेट हाल निर्माण हुने परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताउनुभयो ।
उहाँका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको हो । त्यसका लागि क्रिकेटका लागि कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहे पनि दुई ओटा खेलकुद मैदान आवश्यक हुने भन्दै यस क्षेत्रमा पनि क्रिकेट मैदान बनाउन लागिएको उहाँले बताउनुभयो ।
शिलान्यासपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले दशौँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वको रूपमा विकास हुने अपेक्षा गरिएको जानकारी गराउँदै त्यसका लागि दत्तचित्त भएर लागिरहेको बताउनुभयो ।
पाँच प नीतिअनुसार अघि बढिरहेको बेला खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न अनुरोध गर्नुभयो । खेलाडीलाई पुरस्कारका लागि चिन्ता नगर्न सुझाव दिँदै कर्णाली चिनाउन प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरू समेटिने जानकारी दिनुभयो । समग्र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध भएर लागिरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया