मध्यपहाडी राजमार्ग दैलेख खण्डको सडक जेठभित्र सम्पन्न हुने

मध्यपहाडी राजमार्ग दैलेख खण्डको सडक जेठभित्र सम्पन्न हुने

दैलेख -  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रेको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २५ किलोमिटर मध्ये बाँकी रहेकाे कालोपत्रे गर्ने काम जेठभित्र सम्पन्न गर्नेगरि कामलाई तीव्रता दिइएको हो ।

सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको भाग्य र भविष्य परिवर्तन गर्ने महत्वपूर्ण आयोजनाका रूपमा लिइएको छ ।

निर्माणका क्रममा देखिएका कतिपय कमजोर संरचना पुनः निर्माण गर्नुपर्ने भएकाले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई बारम्बार ताकेतासँगै निर्देशन दिँदै आएको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले बताउनुभयो । गतवर्ष करिब ९० किलाेमीटर अघिल्लाे वर्ष कालोपत्रे सम्पन्न भएको थियो । 

दैलेख सदरमुकामको पूर्वी खण्डअन्तर्गत जाजरकोटको सुयाडा र पश्चिम खण्डअन्तर्गत अछामसम्म सहज सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले सवारी साधनलाई रुट प्रमिट दिने विषय कर्णाली प्रदेश सरकारको भएकाले प्रदेश सरकारलाई पत्र लेखी पठइएको जनाएको छ । 

मध्यपहाडी सडक खण्डको काममा गुणस्तरीयता कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिप्रकाले कामको गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफैँले उक्त खण्डको स्थलगत अवलोकन गर्नुभएको छ ।  

पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रजिअ भुसालले जेठभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको भन्दै सोही अनुसार कामलाई तिव्रता दिइएको बताउनुभयो । उहाँका अनुसार आयोजना कार्यालयले बारम्बार अनुगमनका लागि दुई जना इञ्जिनियरसमेत खटाएको छ ।

प्रतिक्रिया