न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो जिल्ला अदालत काठमाण्डौ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

यसअघि जिल्ला अदालत काठमाण्डौ र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्वित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको आरोपित न्यायाधीश रावलकी श्रीमति आरतीले दिएको मुद्दामा अन्तिम फैसला बिहीबार जिल्ला अदालतले सुनाउने भएको छ ।

सर्वोच्च अदालतमा बुधबार मुद्दाको सुनवाइ हुँदै गर्दा आरतीले विष सेवन गरेपछि तत्काल वीर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परिक्षणबाट विष खाएको पुष्टि भएको छ । तर, शरीरमा कुनै असर नगरिसकेको स्रोतले बतायो ।

‘उहाँले थोरै मात्रामा खाएको देखिन्छ । ल्याउँदा अर्धचेत हुनुहुन्थ्यो । हामीले अहिले अब्जर्भेसनमा राखेका छौं,’ वीरका एक चिकित्सकले भन्नुभयो । ती चिकित्सकका अनुसार विष सेवन गरेको घटनामा २४ घण्टापछि असर देखिन सक्ने भएकाले आरतीलाई डिस्चार्ज नगरिएको हो । 

प्रतिक्रिया