धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै
![धनगढी–दिपायल द्रतमार्ग धमाधम कालोपत्र हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/pichh_PyQTc6qyjH_4rmkq1ydaxcvlziimcxa1opsk6elctmiu8ydn6llcttczpvsjyyg2njzzxo1_H0bc51HHly_h8pwcsaxoviptz9zthzyvklp3irwogzzwlhoraqgvnyylad76ufkmgnyuqat.jpg)
कैलाली - धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।
आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ । धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताउनुभयो ।
प्रतिक्रिया