सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री प्रचण्ड

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ  -   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबन्ने स्पष्ट पार्नुभएको छ  ।  

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेविरुद्ध छानबिन गर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रहमात्रै भएको भन्दै छानबिन समिति बन्न नसक्ने स्पष्ट पार्नुभएको हो  । 

प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने विषय अलग्गै भएकाले अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताउनुभयो  । 

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक  समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर गर्नुभयो  । 

उहाँले प्रतिनिधिसभामा देखिएको गति अवरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो  । 

कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारिहरूको विस्तारित बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड विराटनगर पुग्नुभएको हो । 


 

प्रतिक्रिया