सहकारीहरुलाई सफ्टवेयर लेखा प्रणाली तालिम

सहकारीहरुलाई सफ्टवेयर लेखा प्रणाली तालिम

दैलेख - जिल्ला सहकारी संघ दैलेखले आफूसंग आवद्ध सहकारीका सञ्चालकहरुलाई सहकारीको लेखा र हर हिसाव अनलाइन प्रणालीमा लैजान दुई दिने सहकारी सफ्टवेयर प्रयोग तथा व्यवस्थापन तालिम दिएको छ । होराइजन प्रो सफ्टवेयरका शिवकुमार कार्कीले तालिमको सहजीकरण गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले सहकारीहरुप्रति नकारात्मक धारणाहरु पैदा भइरहेको बेला सहकारीहरुको लेखा प्रणाली अनलाइन लैजाने गरी चलेको तालिमले पारदर्शिता अभिबृद्धि गर्ने बताउनुभयो । 

जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भूपेन्द्र खड्काको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक शिवकुमार कार्की, सहभागीहरुका तर्फबाट इश्वरी खड्का र नरेन्द्र कार्कीले तालिमको महत्व बारे बोल्नुभएको थियो । 

तालिमका २० जना सहभागीलाई कम्प्यूटर प्रविधिबाट सहकारी संस्थाहरुको बचत संकलन, ऋण परिचालन, सेयर लगानी लगायतको हिसाव राख्ने विधि, लेखाजोखा, सन्तुलन परीक्षण, प्रतिवेदन तयारी गर्ने सीपका लागि प्रयोगात्मक अभ्यास गराइएको थियो । 

यो तालिममा सिकाइएको सीपका आधारमा एक महिनापछि यिनै सहभागीहरुलाई अनलाइन भौचर, दैनिक कारोबार प्रविष्ट विषयमा पुनरताजगी तालिम दिइने प्रशिक्षक कार्कीले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षदेखि सहकारी संस्थाहरुको लेखा सफ्टवेयर प्रणालीमा गर्नुपर्ने अनिवार्य गरेको छ । 

प्रतिक्रिया