डोल्पा डढेलोमा घाइते बालकको मृत्यु
![डोल्पा डढेलोमा घाइते बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_em6JmXJxmK_9xevepvcudcslybnvqafclvpllrgohgfjwhzuaelfrofxin8zjeuuigv7oal_l7Q2WrIb2W_bn0jowkw7evxejbob5nfzeexzffgzzo4srctit2amd7f2atgjqxu885eexci_MU9QdAw5G7_pspmrr0dn8t5cackk7fcmj35iobxgd9mcswxeekajjwighrcjqtk0fx77uej.jpg)
डोल्पा - जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताउनुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो ।
गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया