प्रथम पालिका कपमा दोस्रो दिनको पहिलो खेलमा सानीभेरी विजयी

प्रथम पालिका कपमा दोस्रो दिनको पहिलो खेलमा सानीभेरी विजयी

रुकुम पश्चिम-  रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जारी प्रथम पालिका स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा सानीभेरी गाउँपालिका ए टिम विजयी भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सिमानामा रहेको ट्याखोला खेल मैदानमा भएको खेलमा सानीभेरीले त्रिवेणी गाउँपालिकालाई पराजित गरेको छ । सानीभेरीले १ सय २३ रनको विशाल जीत हासिल गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको सानीभेरीले विकास केसीको अर्धशतकीय इनिङको मदतमा निर्धारित १५ ओभरमा १ सय ५० रन जोडेको थियो । विकासले मात्र २५ बलमा नट आउट ५२ रनको विस्फोटक पारी खेलेका थिए । 

ओपनर छवि ओलीले १२ बलमा १९ रन बनाएका थिए । किर्सल भण्डारीले ३६ बलमा नट आउट ३१ रन, धनेश खड्काले १२ तथा मनोज भण्डारीले ९ रनको योगदान गरेका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको त्रिवेणीले ११ ओभरमा मात्र २७ रनमा अलआउट भएको थियो । त्रिवेणीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । सानीभेरीका भुवन भण्डारीले ३ ओभरमा ६ रन खर्चेर ५ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच समेत भए । बिराज ओलीले २ ओभर बलिङ गर्दा ३ रन खर्चेर २ विकेट लिएका थिए । यो सानीभेरीको पहिलो जित हो । पहिलो खेलमा सानीभेरी हिजो मुसिकोटसँग पराजित भएको थियो ।

प्रतियोगितामा अहिले मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिका बिचमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता भोलीसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया