परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न
सुन्नुहोस्

सुर्खेत – सोसेक नेपालले सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा सञ्चालन गर्ने तीन वटा परियोजना बारे नगरपालिकाका पदाधिकारी र सरोकारवालासंग परियोजना परिचयात्मक कार्यक्रम गरेको छ । वैशाख ६ गते बीरेन्द्रनगर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बिहानी, एलजीबीटीक्यूआई र सशक्त महिला समृद्ध नेपाल (ईडब्लुपीएन) नामका तीन परियोजनाले गर्ने काम र कार्यक्षेत्र बारे जानकारी गराइएको हो ।

शिक्षा, जीविकोपार्जन र लैंगिक मूलप्रवाहीकरण सवालमा सञ्चालन हुने बिहानी परियोजना बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ६, ७ र ८ मा परियोजना गतिविधि हुने कार्यक्रम संयोजक माया अधिकारीले जानकारी दिनुभयो । विहानी परियोजना जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नं. १, ४, ५, ६, ८ र ९ मा पनि सञ्चालन भएको छ । 

परियोजना परिचय कार्यक्रममा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको एलजीबीटीक्यूआई परियोजना बीरेन्द्रनगर नगरपालिकाको वडा नं. २, ४, ६, १० र ११ मा लैंगिक अल्पसंख्यकहरुको अधिकार सवालमा पैरबीको काम गर्ने कार्यक्रम संयोजक प्रभा डांगीले बताउनुभयो । 

यसैगरी संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को साझेदारीमा सोसेक नेपालले बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा सञ्चालन हुने सशक्त महिला समृद्ध नेपाल (ईडब्लुपीएन) परियोजनाले गर्ने लैंगिक हिंसा रोकथाम र समताको सवाल बारे कार्यक्रम व्यवस्थापक हेमन्तीका गौतमले प्रकाश पार्नुभएको थियो । 

अप्रिलदेखि डिसेम्बरसम्म ९ महिना चल्ने सशक्त महिला समृद्ध नेपाल (ईडब्लुपीएन) परियोजना कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ र २ संगै दैलेखको नारायण नगरपालिकाको वडा नं. १, २ र ३ मा पनि लैंगिक हिंसा रोकथाम र समताको सवाल बारे पैरबी गर्ने कार्यक्रम व्यवस्थापक गौतमले बताउनुभयो ।

परियोजना परिचय कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले कर्णाली प्रदेशको सक्रिय संस्था सोसेक नेपालले गर्ने परियोजना क्रियाकलापहरु पारदर्शी र काममा तत्परता बारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै बीरेन्द्रनगर नगरपालिकामा गरिने परियोजनाहरु परिणाममुखी बनाउन नगरपालिकाको समेत सहयोग रहने बताउनुभयो । 

सोसेक नेपालका उपाध्यक्ष कबिराज पोखरेलको अध्यक्षतामा भएको परियोजना परिचयात्मक कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र शर्मा लगायतले सोसेक नेपालले सञ्चालन गर्ने परियोजना गतिविधिहरुको प्रभावकारिता, लक्षित वर्गको पहुँच अभिबृद्धि, स्थानीय सरकार र नागरिक समाज संस्थाहरुको सहकार्यता विषयमा बोल्नुभएको थियो ।
 

प्रतिक्रिया