सल्यानका तीन वटा सामुदायिक विद्यालयमा पहिलो पटक ‘बस’ सञ्चालन

सल्यानका तीन वटा सामुदायिक विद्यालयमा पहिलो पटक ‘बस’ सञ्चालन

सल्यान -  सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकृर्षण बढाउन सल्यानका सामुदायिक बिद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छन् । जिल्लामा रहेका संस्थागत बिद्यालयले मात्रै बिद्यालयमा बस सेवा सञ्चालन गरेको बेला केही सामुदायिक बिद्यालयले पनि यसै शैक्षिक सत्रबाट बस सेवा सञ्चालनमा ल्याएका हुन् । यस पटक जिल्लाका तीन वटा सामुदायिक बिद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छन् ।

जसमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–५ शंखपिपल च्युरामा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालय, कुमाख गाउँपालिका–२ रुमालगाउँमा रहेको नारायण माध्यमिक बिद्यालय र बागचौर नगरपालिका–२ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक बिद्यालयले बस सेवा सञ्चालनमा ल्याएका हुन् । तीमध्ये च्युरा र रुमालगाउँको विद्यालयलाई नेपाल भारत सहयोग अन्र्तगत दूतावासले निःशुल्क बस हस्तान्तरण गरेको हो भने थारमारेले आफ्नै लगानीमा बस सञ्चालन गरेको हो ।

त्रिभुवन जनता माध्यमिक बिद्यालय च्युराका प्रधानाध्यापक गुमानसिंह बिष्टले बिद्यार्थीको सहजताको लागि बस सेवा सञ्चालन गरिएको बताउनुभयो । ‘हामीले निःशुल्क बस सेवाका लागि पहिल्यै आवेदन दिएका थियौँ, जसमा हाम्रो बिद्यालय पनि छनौट भयो, पहिले बिद्यालयमा बस थिएन्, अव भने सबै बिद्यार्थीलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरेका छौँ’ उहाँले भन्नुभयो । शैक्षिक सत्र २०८० मा यस बिद्यालयमा एक हजार एक सय ६० बिद्यार्थी भर्ना भएका थिए ।

यस शैक्षिक सत्रमा एक हजार दुई सय बढी बिद्यार्थी भर्ना गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । ‘अहिले सामुदायिक बिद्यालय पनि अब्बल बन्दै गएको छ, यस बिद्यालयमा प्राविधिक धार तर्फ बालिबिज्ञान बिषयको पनि पठनपाठन भैरहेको छ, नर्सरी लेखी कक्षा २ सम्म अंगे्रजी माध्यमबाट पठनपाठन भैरहेको छ, नर्सरी देखी कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीलाई निःशुल्क बस सेवा दिन्छौँ’ उहाँले भन्नुभयो ‘माथिल्लो कक्षाका बिद्यार्थीबाट पनि अधिकतम् कम शुल्क उठाउँछौँ ।’

अहिले बस लिएर नै बिद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको बिद्यालयले जनाएको छ । दूतावास मार्फत पहिलो पटक जिल्लाका दुई सामुदायिक विद्यालयले बस ल्याएका हुन् । यस अघि जिल्लाका कुनै पनि विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका थिएनन् । संस्थागत विद्यालयले बस सेवा सञ्चालनमा ल्याएपनि सल्यानमा सामुदायिक विद्यालय कुनैले पनि बस सेवा सञ्चालन गरेका थिएनन् ।

नारायण माध्यमिक बिद्यालय रुमालगाउँका प्रधानाध्यापक देबेन्द्र रावतले विद्यालय परिवारको सक्रियताले बस प्राप्त भएको बताउनुभयो । ‘भौगोलिक रुपमा विकट भएका कारण बस सञ्चालन गर्न त्यति धेरै सहज छैन्, तैपनि बस सञ्चालन गर्नु हाम्रो दायित्व हो, जुन उद्धेश्यले हाम्रो बिद्यालयलाई दूतावास मार्फत ३२ सिट क्षमता भएको बस प्राप्त भयो, यसले बिद्यालयको शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने सोचेका छौँ’ उहाँले भन्नुभयो ।

यस बिद्यालयमा शैक्षिक सत्र २०८० मा ६ सय ९२ जना बिद्यार्थी भर्ना भएका थिए । यस शैक्षिक सत्रमा भने करिब १५ प्रतिशतले बिद्यार्थी बृद्धि हुने उहाँको दावी छ । ‘बिद्यालय भन्दा टाढाका बालबालिकालाई पनि सहज रुपमा बिद्यालयमा आएर पठनपाठनमा सरिक हुन यसले मद्धत मिल्ने छ, बिद्यालयको क्षेत्रभित्रका सबै बिद्यार्थीलाई बस सेवा दिने गरि अहिले भर्ना अभियान सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

जनकल्याण नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक तुलसीराम बस्नेतले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर बिद्यालयले १३ लाख रुपैँयामा बस खरिद गरि सञ्चालनमा ल्याएको बताउनुभयो । ‘पहिले बिद्यालयमा बस थिएन्, यो शैक्षिक सत्र देखी बस सेवा सञ्चालनमा ल्याएका छौँ, बसको ४० सिट क्षमता रहेको छ, गएको शैक्षिक सत्रमा करिब चौँध सय बिद्यार्थी थिए, यो पटक बिद्यार्थी संख्या बढ्ने अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो ।

यस बिद्यालयले पढ्दै, सिक्दै, कमाउदैँ जस्ता बिभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका अरु सामुदायिक बिद्यालयले पनि बस सेवा सञ्चालन गर्ने योजना बनाएका छन् ।-सल्यानटुडे

प्रतिक्रिया