एउटै बँदेलको टोकाईबाट सात जना घाइते

एउटै बँदेलको टोकाईबाट सात जना घाइते
सुन्नुहोस्

दैलेख – रातिमा अन्न र तरकारी बाली नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समयमा मानिसहरुलाई दिउँसै आक्रमण गर्न थालेको छ । मंगलबार दिउँसो भैरबी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयलाई एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ । 

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा समेत तीन वटा टोलका बारीमा गहुँ काट्दै गरेको बाटोमा हिँड्दै गरेका समेत सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरबी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो ।  

बँदेलको टोकाईबाट भैरबी गाउँपालिका–६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते हुनुभएको छ । 

सबैजसोलाई लखेट्दै गर्दा बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पाइएको पानीपोखरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइतेहरु सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । 

घाइतेहरु मध्ये गणेश सलामी सख्त घाइते हुनुभएकोले थप उपचारका लागि सदरमुकाम पुर्‍याउन साधनको प्रवन्धमा जुटेको वडाध्यक्ष हमालले बताउनुभयो । 

गएको फागुनमा भैरबी गाउँपालिका–६ घुम्नेखाली घरमै बसेकी पबित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औंला टोकेर घाइते बनाएपछि कर्णाली प्रदेश अस्पतालमा उपचार गरेर पनि अपाङ्ग हुनुभएको छ ।  
 

प्रतिक्रिया