हुम्लामा एकल देउडा गायन र निबन्ध लेखन प्रतियोगिता

हुम्लामा एकल देउडा गायन र निबन्ध लेखन प्रतियोगिता

हुम्ला -   हुम्लाको सदरमुकाम सिमकोटमा सामाजिक विकास कार्यालयले आयोजना गरेको जिल्लास्तरमा विद्यालय तहका विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तरगत एकल देउडा गीत गायन प्रतियोगिता सम्पन्न भएको छ । ‘शिक्षामा नयाँ आयाम, आजको आवश्यकता’ विषयमा निबन्ध लेखन प्रतियोगितासमेत सञ्चालन भएर कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाभरिका विद्यालयलाई सहभागिताका लागि पत्रचार गरेपनि पाँचवटा विद्यालयको मात्रै सहभागिता रहेको थियो । जिल्लास्तरका सम्पूर्ण विद्यार्थीको क्षमता विकासका साथै उनीहरुमा लुगेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले बताउनुभयो ।

एकल देउडा गीत गायनतर्फ चार वटा विद्यालयको सहभागी भएका थिए । जसमा सिमकोट गाउँपालिकाका कैलाश, मानसोवर र बाल मन्दिर माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । त्यस्तै खार्पुनाथ गाउँपालिकाबाट मान्धारा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

सामाजिक विकृति विसङ्गतिविरुद्ध भएको सचेतनामूलक एकल देउडा गीत गायनमा मान्धारा माध्यमिक विद्यालयका शान्ति परियार प्रथम हुनुभएको छ । कैलाश माध्यमिक विद्यालयका आष्टिका शाही दोस्रो, बालमन्दिर माध्यमिक विद्यालयका सुनिता लामा तेस्रो र मानसरोवर माध्यमिक विद्यालयका सर्जन विक सान्त्वना भएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख बस्नेतले बताउनुभयो ।

यस्तै ‘शिक्षामा नयाँ आयाम आजको आवश्यकता’ भन्ने निबन्ध लेखन विषयमा जिल्लाका पाँच विद्यालयको सहभागिता रहेको थियो । जसमा सिमकोट गाउँपालिकाका कैलाश र बालमन्दिर माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यसैगरी खार्पुनाथ गाउँपालिकाका सीता र चङ्खेली गाउँपालिका महादेव माध्यमिक विद्यालय सहभागी थिए ।

त्यस्तै ‘शिक्षामा नयाँ आयाम आजको आवश्यकता’ विषयक निबन्ध लेखन प्रतियोगितामा चङ्खेलीको महादेव माध्यामिक विद्यालयकी छात्रा ममिता शाही प्रथम भएको सूचना अधिकारी धर्मराज बोहराले बताउनुभयो । मानसरोवर माध्यमिक विद्यालयका अनिल शाही दोस्रो, सीता माध्यमिक विद्यालयकी पवना हमाल तेस्रो र कैलाश माध्यमिक विद्यालयका योगेन्द्र शाही शान्त्वना भएको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो । 

शनिबार बालमन्दिर माध्यामिक विद्यालयमा भएको एकल देउडा गीत गायन र शिक्षामा नयाँ आयाम आजको आवश्यकता प्रतियोगितामा प्रथमलाई रु छ हजार सात सय ५०, दोस्रोलाई रु पाँच हजार पाँच सय ५०, तेस्रोलाई रु तीन हजार सात सय ५० र सान्त्वनालाई रु दुई हजार दुई सय ५० नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार सामाजिक विकास कार्यालय प्रमुख बस्नेत, सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष सुशीला रोकाया (भाम), सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रदान गर्नुभएको थियो । 
 

प्रतिक्रिया