खानेपानी आएपछि बादी बस्तीमा खुशी

खानेपानी आएपछि बादी बस्तीमा खुशी

दैलेख - दुल्लु नगरपालिका–१, डुंगेश्वरमा वादी समुदायको एउटा गाउँ छ । ३६ घरधुरीभएको यो गाउँमा दुई हप्ताअघि खानेपानीको एउटा योजना पूरा भयो ।

योजना सोसेक नेपालले सञ्चालन गरेको एकीकृत जलश्रोत व्यवस्थापन परियोजनाका लागि हेल्भेटास नेपाल, यूनिसेफ र दुल्लू नगरपालिकाको सहयोगमा ७० लाख ४७ हजारको लागतमा तल्लो डुंगेश्वर बजारका एक सय १६ घर परिवारलाई खानेपानी पुर्‍याउन चलेको योजना मध्ये पहिलो प्राथमिकतामा बादी समुदायका ती ३७ घरमा खानेपानी पुगेपछि बासिन्दाहरू गदगद भएका छन् । स्थानीय शान्ताको लागि त बाँचुन्जेल सम्झिने खुसी थपियो । 

’यहाँ पानीको धारो कलकल बगेको दिन त मलाई अब हामी पानी मात्र खाएर पनि बाँच्न सक्छौं जस्तो लाग्यो । अहिले पनि उस्तै खुसी छु,’ २२ वर्षीया शान्ता वादीले भन्नुभयो ’पानी आएपछि घरको आँगन सफा भएर चिटिक्क भएको छ ।’

बस्तीमा खानेपानी नहुँदासम्म यहाँका बासिन्दा करिब २० मिनेट ओह्रालो हिँडेर खोलाको पानी भर्थे र आधा घन्टा उकालो हिँडेर घर आउँथ्यौं ।

खोलाको पानीको गुणस्तरको कुरा अर्कै, झन्डै एक घण्टा लगाएर ल्याएको पानी मनखुसी चलाउन पनि नपाई, जोगाएर चलाउनुपर्थ्यो । 

डुंगेश्वरको वादी समुदायले यसअघि यस्तै दुई वटा खुसी पाएको थियो । बस्ती खोला किनारमा थियो । हरेक वर्ष बाढीले दुःख दिन्थ्यो। सरकारले २०७१ सालमा घर बनाइदिएर हालको ठाउँमा सारेको थियो । त्यो बेला खुसी भएको यो बस्ती हालसालै सोसेक नेपालले घरघरमा आधुनिक शौचालय बनाइदिएपछि मख्ख परेको थियो । केही घरमा अहिले पनि शौचालय बन्ने क्रम चल्दै छ ।

तर खानेपानी आएपछि भने सिंगो गाउँको आँतमा खुसी भरिएको छ । आँतै रसाउने गरी खानेपानी पुगेको भन्दै बस्तीबासी पुलकित छन् ।

यसको श्रेय देवीसरा वादीले पाउनुभएको छ । 


वादी बस्तीकी देवीसरा वडाबाट चुनिएकी जनप्रतिनिधि हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर १ मा आरक्षित ’दलित महिला’ वडा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

देवीसराले गर्दा यति छिटो आफ्नो गाउँमा पानी आएको शान्ताको बुझाइ छ । 

’पानी नहुँदा हामीलाई कम्ता सास्ती थिएन। दिनरातै पानीकै तनाव हुन्थ्यो। पानी आको दिन हामी गाउँले मनै भरिने गरी खुसी भएका थियौं । त्यो दिनको खुसी बाँचुन्जेल सम्झिने छ,’ उहाँले भन्नुभयो ’हाम्रोबाट वडासदस्य)भएको यो एउटा फाइदा भएको छ ।’

देवीसरकाले गाउँमा पानी ल्याउन आफू र गाउँलेहरूको उत्तिकै हात रहेको बताउनुभयो । 

’गाउँमा खानेपानी ल्याउन सोसेक नेपालले सहयोग गरेको हो । वडा सदस्य भएपछि मैंले पनि मेरो गाउँको खानेपानी योजना पूरा गर्न वडाका बैठकहरूमा अड्डी कसेकी थिएँ,’ उहाँले भन्नुभयो ’मेरो अगुवाइमा सबै गाउँले मिलेर दबाब दियौं। खानेपानी आएपछि सजिलो भयो, खोलाको पानी खानुपर्ने बाध्यता हट्यो ।’

’त्यो बस्तीमा पानीको अभाव थियो। हामीले पहल गरिरहेका थियौं। देवीसराजीले त सुरूदेखि नै त्यहाँ पानी लैजाने अडान राख्नुभयो, त्यो बस्तीलाई हामीले पनि विशेष रूपमा सम्बोधन गर्ने प्रयास गरिरहेका छौं।’ वडाध्यक्ष खड्काले भन्नुभयो । 

भुवापानी तल्लोडुंगेश्वर खानेपानी तथा सरसफाई आयोजनाले एक सय १६ परिवारलाई हरेक घरमा धारा, केही सार्वजनिक शौचालय समेत बनाउने योजना रहेको एकीकृत जलश्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक महेन्द्रराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो योजनाको काम हुँदैछ, सुरुमा बादी बस्तीमा खाने चलाइएको हो । 
 

प्रतिक्रिया