छाउपडीप्रथा विरुद्ध लागेकी गमता राज्यमन्त्री बनिन

छाउपडीप्रथा विरुद्ध लागेकी गमता राज्यमन्त्री बनिन

              दैलेख । आठविस नगरपालिका –१ सात्तलाकी ५१ बर्षिया गमता विक कर्णाली प्रदेशको भौतिक तथा शहरी विकास मन्त्रालयको राज्यमन्त्री बनेकी छन् । वैशाख १८ प्रदेश सरकार विस्तार सँगै अन्य पाँच जना सहित  गमताले  प्रदेश प्रमुख तिलक परियार समक्ष राज्यमन्त्रीको सपथ लिएकी हुन् । ०५७ सालमा छाउपडीप्रथा हटाउन अभियान थालेकी गमताले स्कुल टेक्न पाईनन् । उनी पनि विभेदको मारमा परिन । त्यतिबेला ग्रामिण भेगमा अर्काको घरमा जाने छोरीलाई पढाउनु हुदैन भन्ने चलन थियो । त्यो अझै पनि गाउँमा सुनिन्छ । एकातिर गरिव अर्कोतिर पराई घरमा जाने पढाउनु हुदैन भन्ने चलनले गमताको स्कुल जाने सपना अधुरै रह्यो । 


    तर पनि विकको पढने धोको पौढ शिक्षाले मेटाईदियो । ६ महिनासम्म लालटिङको सहारामा पौढ पढिन् । पौढ गमतालाई साक्षरता बनायो । गाउँमा अरुसँगै सजिलै कुरा राख्ने,कुरिति र विसंस्कृति,अन्धविश्वास,रुढीबादी विरुद्ध विद्रोह गर्न उर्जा दियो । त्यही उर्जाले गर्दा गमताले गाउँमा जरा गाडेर बसेको कुसंस्कार छाउपडी प्रथा विरुद्ध अभियान छेडिन् । 


सुदुरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि छाउपडी प्रथा कायमै छ । कुसंस्कार अन्धविश्वास रुढीबादी चलनलाई हटाउन साविकको सात्तला गाविस हाल आठविस नगरपालिका १ की गमता विक छाउपडी हटाउन अभियान नै थालिन । घरबाट अभियान शुरु गरि गमतालाई साविकको सिगौडी गाविसकी लक्ष्मी शाही र लकान्द्र गाविसकी रुपा विक (थापा) ले साथ दिए । गाउँमा जनचेतना जगाउँदै छाउपडी छोड्न लगाईन । कतिपय महिलाले छाउपडी वार्ने छोडे भने केही महिलाले देवीदेउताको डरले छाउ वार्ने काम गरिरहे । छाउपडी प्रथा विरुद्ध अभियान थालेकी गमता त्यसपछि महिला स्वयसेविका बनिन् । गाउँमा जनचेतना जगाउदै गईन । छाउपडी प्रथा विरुद्ध आवाज उठाउदै आएकी तीनै गमता कर्णाली प्रदेशको भौतिक तथा शहरी विकासको राज्यमन्त्री वन्ने अवसर मिलेको छ । नेकपा एमालेले समानुपातिक कोटाबाट विकलाई कर्णाली प्रदेश सभा सांसद बनाएको थियो । उसो त तत्कालिन  सशस्त्र द्वन्द्वको बेला माओवादीले जबरजस्ती छाउगोठ भत्काउदै रजस्वला भएका महिलालाई घरमा ल्याएर राखेपनि त्यसको कुनै प्रभाव देखिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि महिलाहरु पुनः छाउगोठमा बस्न थाले । यसका लागि गमताहरुले  चेतनालाई नै ठूलो कुरा सम्झिन । गाउँमा रातदिन नभनेर जनचेतना जगाउन थालिन । कहिले सडक नाटक त कहिले देउडागितबाट छाउपडी प्रथा रुढीवादी र कुसंस्कार हो भनिन् भाषण नबुझने महिलाले केहीले छाउपडी छोडे केही देउताको डर छोड्न सकेनन् ।  

 


   २०४९ सालमा सोही वडाका हरिश सँग उनको विवाह भयो । ०५३ सालमा पहिलो सन्तान छोरा र ०५६ मा छोरी जन्मियो । सुत्केरी हुँदा  निकै दुःख भोग्नुप-यो । पश्चिम दैलेखमा त्यो समयमा छाउपडी भन्दा सुत्केरी छाउ अझ कठोर थियो । ‘१२ दिनसम्म गोठमा बस्नुपर्ने बाध्यता, अर्कोतिर गाईभैँसिलाई घाँस काट्नु पथ्र्यो । दुध दही खान हुदैन भन्ने संस्कार थियो । म सुत्केरी भएको तीन दिनमा ठुलो रुखमा गएर घाँस काट्ने आईमाई मै हुँ उनले दुखेसो पोखिन ।  


 दुःख गरेर छोराछोरालाई हुर्काए । त्यहिबेलादेखि गमताको मनमा छाउपडी,रुढीवादी, कुसंस्कारका विरुद्धमा विद्रोह गर्ने योजना भईसकेको सुनाईन । अर्कोतर्फ विक एमाले कार्यकर्ता थिइन । त्यो समयमा छाउ भएको महिलाले बारीमा लगाएको अन्नबाली, घरवरपरको रुख वृक्ष छोएपछि सुक्ने, गाई, भैंसीलाई छोएपछि दुध दिन छाड्छ भन्थे । अहिले पनि महिनावारी भएको महिलालाई गाउँमा भैंसी दुहुन दिँदैनन, यो चलन कायमै छ । 


छाउपडी विरुद्धको विद्रोह बेसारबाट


     ०५७ सालतिरको कुरा हो । अब मैले आफुबाट नै कदम चाल्नुपर्छ भनेर योजना बनाए ।  बेसारबारीबाट छाउप्रथा विरुद्ध विद्रोह सुरु गरिन  । वेसारबारी गोडमेल गर्दा बेसारबारी सुकेन । त्यसपछि छाउप्रथा एउटा अन्धविश्वासको जड रहेछ भन्ने थाहा पाईन । त्यसपछि महिनावारी हुँदा उनी भान्साभित्र पसेर खाना बनाउन थाले । भैंसी पनि आफै दुहुन थाले ।  तरकारीबारीमा गए । तर समाजले भने गमताबारे समाजले चिया चौतारा उनकै बारे नराम्रो टिकाटिप्पणी गर्न थाले । तर पछि हटिनन् ।

 
      उनी भन्छिन् ‘मैले छाउ बार्न छाडेको थाहा पाएपछि आफन्त, समाजका अगुवादेखि महिलाहरु  घरमा आउन छाडे ।  माइती घरका भाइबहिनी पनि आएनन ।’ छाउ (महिनावारी) भएकी महिलालाई छोएमा चोखो हुनुपर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य थियो, त्यो बेला । त्यसैमा दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु उनका लागि चुनौतिको पहाड थियो ।  

 
   गाउँमा स्वास्थ्यको सहज पहुँच थिएन ।  कोही बिरामी भयो भने धामीझाँक्रीकै भर हुन्थ्यो । छाउ बार्न छाडेपछि धामीझाँक्रीले त्यो छुई (छाउ) बार्दैन, छुईमुसो भयो भन्न थाले । केही समयपछि  छाउपडीविरुद्धको अभियानमा गाउँका धामी भिमसिं थापा र विज्ञान शिक्षक शेरबहादुर थापाले साथ दिए ।  छाउविरुद्ध अभियान चलाउने संघसंस्था गाउँमा आए भने प्रशासनको सहयोग पाईन । 

      ‘महिनावारी नबारे देउता लाग्छ’ भन्ने मान्यताले जरो गाडेको त्यो बेलाको समाजमा गमताले कठोरताका साथ विद्रोह गरिन् । उनको बुझाईमा देउता केही लाग्दोरहेनछ, त्यो त महिलालाई कमजोर बनाउन गलत संस्कार बसालिएको रहेछ भन्ने कुरा लिएर घरदैलो गरिन । सुरुमा अवरोध भएपनि पछि उनकै नेतृत्वमा गाउँभरीका छाउगोठ भत्काउन सफल भएको बताईन । त्यतिवेला  गाउँमा महिलाहरुलाई मेलापात र भान्सामै सीमित गरिन्थ्यो । गमताले गाउँमा आमा समुहदेखि सडक खन्ने क्रममा समेत महिलाको नेतृत्व गरिन् । 


द्धन्द्ध कालमै रामाघाड–ठाटीकाँध–सिंहासैन जोड्ने सडक खन्ने काम भयो । त्यो सडकमा उनी  ५०–१०० जना महिलाको नेतृत्व गर्थिन । उनकै पहलमा गाविसले महिला सञ्जालको भवन निर्माणका लागि वर्षेनि १० हजार रुपैयाँ छुट्याएको थियो । त्यही रकमबाट बनाएको भवनमा अहिलेपनि विभिन्न सामाजिक भेला, गोष्ठी सेमिनार समेत हुन गरेका छन् ।

 
बाल्यकालको मेलापात र प्रौढ शिक्षा


    चार भाई र तीन बहिनी मध्ये जेठो सन्तान हुन गमता विक । गाउँमा रोजगारी नभएपछि बुुवा उदय कामी कालापहाड जान्थे । आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने जिम्मेवारी उनकै काँधमा थोपरिएको थियो । 


  ०६१ सालमा विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको टोल भन्दा अलि परको टोलमा महिला समूह गठन गरि साक्षरता कक्षा (प्रौढ शिक्षा) सञ्चालनको योजना बन्यो तर त्यहाँ गाउँलेले मानेनन । गमताले मेरो टोलमा ल्याउनुप¥यो भनेर पहल थालिन । उनकै टोलमा कक्षा सञ्चालन भयो । गाउँका मान्छेले पढाई बिथोल्न हुलदंगा गरेको सम्झना उनलाई अझै ताजै छ । । उनी भन्छिन,“सहजकर्तालाई लेखेट्ने योजना नबनेको होइन तर गमता एक्लैले प्रतिवाद गर्दै एक्लै भएपनि पढ्ने साहस गरिन् । त्यसपछि अरु महिलाको साथ पाउन थालिन् । गाउँकै एक जना शिक्षककी श्रीमति सुरुमा पढ्न आएपनि श्रीमानकै कारण उनले पढाइ छाडेको स्मरण भुलेकी छैनन । उनीजस्तै निरक्षर १५ जना महिला कक्षा लिन तयार भए । साँझको खाना खाइसकेपछि महिलाहरु काखीमा बच्चा च्यापेर दियालो बाल्दै कक्षाघरमा पुग्थे । त्यहाँ दुई अढाइ घण्टा पढेर सुत्न घर फर्किन्थे । लालटिनको उज्यालोमा ६ महिनासम्म कक्षा लिएर लेखपढ गरेका थिए । ‘मत घाँस काट्न जाँदा पनि एउटा काखीमा कापी, कलम बोकेर जान्थे,’ उनले भनिन । त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काम गर्ने प्ररेणा दिएको उनले बताइन ।  


‘एमाले भएकै कारण घर बनाउन पाइनन्


           गमताले एमाले भएकै कारण आफु घर बनाउन नपाएको पिडा सुनाईन । ०५७ सालमा गमताले घर बनाउन थालिन ।  माईती घरमा भाइ र गाउँकै एक जना थापा दाई गरि तीन जनाको घर बन्दै थिए । उनका भाइ नेमकिपा निकट मानिएपनि माओवादीसँग हिमचिम थियो र थापा दाई माओवादी थिए । ‘भाइ र थापादाईले घर बनाए । तर मलाई एमाले भनेर तत्कालिन माओवादीले घर बनाउन दिएनन् काठ नै कब्जा गरेर लिए । भन्छिन,‘ दुःख र संघर्ष कम छैन ।  शान्ति प्रक्रियापछि मात्रै नयाँ घर बनाइन ।’ 
गमताका श्रीमान हरिश ०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । उनकै प्रेरणाले गमता राजनीतिप्रति झुकाव रहेको बताउँछिन् । एमालेको वडा, गाविस उपाध्यक्ष, इलाका र क्षेत्रीय कमिटीमा लामो समय काम गरिन् । 


पतिकै प्रेरणाले अभियान्ता र राजनीति   


   गमता आफु श्रीमानकै कारण अभियान्ता हुदै राजनिति तिर लागेको बताउँछिन् । ०७१ मा जिल्ला कमिटी सदस्य बनेकी उनी अहिले प्रदेश कमिटी सदस्य छन् ।  पार्टीभित्र पनि निकै संघर्ष गर्नुपरेको  बताईन ।


उनले भन्छिन् ः ‘एक त महिला त्यसैमा दलित समुदायको मान्छे थुप्रै ठाउँमा अपमान सहँदै आइयो, पार्टीभित्र पनि निष्ठाको राजनीति कहाँ छर ?,’ गाउँ सभाजस्ता महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरियतालाई आधार बनाउने प्रचलन हुन्छ । जिल्ला कमिटी सदस्य हुँदा साविक सात्तलामा अन्य पार्टीका त्यो तहका नेताहरु थिएनन् । तर गाउँसभामा दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार गर्न तयार नरहेको दुखान्त स्मरण सुनाईनन् । त्यस्तो विभेदपूर्ण प्रवृतिको भण्डाफोर गर्दै आफ्नो अडानबाट भने पछि हटिनन् ।  


विक गाउँमा स–साना गरि थुप्रै समुह र संस्थाको अगुवाई गर्थिन् । गाउँमा खुल्ला दिसा मुक्त अभियानको थालनी गर्ने श्रेय पनि उनलाई जान्छ । ‘हिड्ने बाटोहरुको डिलमा दिसा, पिसाव गर्ने गरिन्थ्यो, टोललाई सफा राख्नुपर्छ भनेर म आफै बिल्चा लगेर दिसा पुर्थे । ‘सुरुमा कोही आउँदैन थिए, जब म अग्रसर हुन्थे त्यसपछि मात्रै अरु आउँथे ।’ 


    शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन । सामाजिक कामको नेतृत्व गरेबापत अन्तर गाविस, ठाउँमा भ्रमण जाने अवसर पाउँथिन । भ्रमणबाट उनलाई पनि घर फर्केर शौचालय बनाउनुपर्छ भन्ने चेतना जाग्यो । सुरुमा खाल्डे चर्पी बनाइन् ।  वडामा चर्पी प्रयोग गर्ने नै उनको परिवार पहिलो हो । 


उनी भन्छन्,‘ काठको जोडेर चर्पी प्रयोग गर्न थालेपछि छरछिमेकीले खिसीटिउरी गर्थे । घरका सबै एउटै घरमा दिसापिसाब गर्छन, लाज पनि मान्दैनन भन्थे ।’ 
विस्तारै छरछिमेकीलाई बुझाउँदै शौचालय बनाउन लगाइन भने ०७० सालमा सात्तला गाविस खुला दिसामुक्त घोषणा भयो । उनी शौचालयको नियमित प्रयोगबारे गाउँ गाउँ डुलेर अनुगमन गर्ने गर्थिन । भन्छिन्,‘ संघर्षमा मान्छे एक्लै हुन्छ, जब सफलता हुन्छ तब मात्रै सबैको साथ हुन्छ ।’ 


२०६४ देखि ०७४ सम्म महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरेको अनुभव पनि गमतासँग छ । त्यो बेला खाजा खान बचेको रकमबाट सुत्केरी गराउने बेर्ड बनाउनेदेखि गाउँका गरिब, निमुखाको पक्षमा उभिएर अड्डा, अदालतसम्म धाइन् । गाउँमा उपचार सम्भव नहुदाँ अशक्त बनेकाहरुको घाउमा मलम लगाउने श्रोत बनिन । 


    ०७४ मा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजिनामा दिएर चुनाव लडेकी उनी ४२ मतान्तरले पराजित हुन् पुगिन । उपप्रमुख लड्दा लागेको ७ लाख बढी ऋण अझै तिर्न बाँकी रहेको सुनाउँदै उनले भनिन,‘अझै पनि तल्लो तहको वर्गले राज्यको अनुभूती गर्न पाएको छैनन । ती वर्ग भनेकै दलित,उत्पीडित वर्ग हुन् ।’ पार्टीले टिकट दिएपनि ऋणकै कारण उनले ०७९ को स्थानीय तहको निर्वाचन लडिनन् । 


दैलेखको पहिलो दलित महिला राज्यमन्त्री


  गमता आफु सांसद बन्नुमा पार्टी, श्रीमान र संघीयताको देन रहेको बताउँछिन् । निरन्तर पार्टी काम र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पार्टीले समानुपातिक सूचीका लागि सिफारिस गरेको थियो । उनी दलित महिला र पिछडिएको क्षेत्रको कलष्टरमा एक नम्बर प्राथमिकतामा थिइन् । ‘म खोलाको ढुङ्गा जस्तै छिचलिएर अहिले सांसद बनेको छु’ गमताले सांसद बनेपछिको अनुभव साँट्दै भनिन् ‘अन्धविश्वास, विभेद र उत्पीडनविरुद्ध अब संसदमा आवाज उठाउने छु ।

 

’ दैलेख क्षेत्र नम्बर २ बाट ०४८ यता कुनैपनि दलित नेता सांसद बनेका छैनन । ‘भौतिक संरचना निर्माण, सडक निर्माणले मात्रै परिवर्तन हुन्छ भन्ने एउटा भ्रम छ । तर जबसम्म चेना र सामाजिकीकरणको विकास हुँदैन,अन्य विकासको अर्थ हुँदैन ।  तल्लो वर्गमा समुदायले राज्य भएको अनुभूति गर्न पाएका छैनन, संविधानमा लेखेर मात्रै हुँदैन, व्यवहारमा लागु हुनु्पर्छ,उनले भनिन ।’ 
 

प्रतिक्रिया