सुर्खेतको मालपोत कार्यालयमा आगलागी

आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षती

सुर्खेतको मालपोत कार्यालयमा आगलागी

सुर्खेत -  सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो 

कार्यालयको स्टोर कोठामा एक्काशी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो  ।

उहाँका अनुसार  आगलागी हुने वित्तिकै थाहा पाएपछि दमकलको सहायहताले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षती पुगेको छ ।

स्टोरमा रहेका दराज एक थान, एक मोटसाईकल, दुई ओटा जेनेरेटर, कुर्सी १० वटा, टेवुल एक, सिपिउ पुरानो ६ ओटा र एक दर्जन प्लास्टिक कुर्सी जलेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो  । आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा थप क्षती हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।

स्टोर कोठामा राखिएको जेनेरेटर पड्कीएर आगो लागेको कार्यालय प्रमुख जनक हमालले बताउनुभयो  । उहाँका अनुसार २०७४ देखि नै विग्रिएको जेनेरेटर राखिएको र जेनेरेटरमा तेलसमेत रहेकाले गर्मीका कारण पड्केर आगो लागेको हो ।

‘काम नलाग्ने सामग्रीमा क्षती पुग्यो, अन्य कोठामा लागेको भए सखापै हुनेरहेछ,’ हमालले भन्नुभयो, ‘अन्य लालपूर्जा र महत्वपूर्ण कागजात भएको ठाउँ तिर आगो सल्किन नपाउँदै नियन्त्रणमा लिएर ठूलो नोक्सानी हुनबाट जोगाएका छौं ।’

प्रतिक्रिया