थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

थात थलो छोडेका भुकम्प पिडितलाई जीवन धान्न गाह्रो

        जाजरकोट (रिम्ना) । एक महिना अगाडी जाजरकोट भेरीनगरपालिका –१ रिम्नाको शहिद पार्क  प्राङगण भुकम्प पिडित खचाखच भरिएको थियो । ओहोर दोहोर गर्न समेत ठाउँ थिएन । विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाले पिडित परिवारका लागि अस्थायी टहरा लताकपडा भाडाकुँडा सहयोग दिएर त्यो ठाउँ छोडी सबै आ –आफ्नो ठाउँमा बसाई सारे । तर भुकम्प गएको तीन महिना वितिसक्दा सोही शहिद प्राङगणमा ४२ बर्षिया देवी पुन बोहरा सहित अन्य दुई परिवारले अझै पनि त्रिपालमुनि कष्टकर जीवन विताईरहेका छन । 


    बोहरा तीन बर्षिया नातिनी सहित आजभोली त्रिपालमुनि चिसो रात काट्न बाध्य छन् । बोहराका तीन छोरी सहित पाँच जना परिवार छ । बारेकोट गाउँपालिका –४ घर भएकी बोहरा परिवार व्यापार व्यवसाय गर्न १८ बर्ष अघि भेरी नगरपालिका –१ रिम्नामा झरेका थिए । “बारेकोट सधै जसो अनिकाल हुने,खान लाउन नपुग्ने हुनाले व्यापार व्यवसाय गर्न यहाँ आएका हौं । यतै बसेर व्यापार व्यवसाय गरेर गुजारा गरिरहेका थियौं तर भुकम्प सबै तहस नहस पारिदियो । हामी त कोठा भाँडा लिएर बसेका थियौं”उनले भनिन् ।


    बोहराको भन्दा फरक छैन शहिद पार्कमा त्रिपालमुनि रात कटाई रहेकी ४१ बर्षिया मनिषा चलाउनेको । २०६० सालमा साविकको साक्ला २ बाट दुई बुढाबुढी सहित मजदुरी गर्न श्रीमान सहित चलाउने रिम्नामा कोठा भाँडा लिएर बसे । तर उनका श्रीमान पनि ६ बर्षदेखी सम्र्पकमा छैनन् । ठुली भेरिको किनारामा ५ जना छोरी सहित गुजारा चलाउँदै आएकी थिईन । भुकम्पका बेला चलाउने भने छोराछोरीलाई घरमै छोडेर पैसा कमाउन भारतको रुरुमा पुगेको बताईन । उनले भनिन,“भुईचालो आएका बेला म भारतमा थियाँ । तीनदिन पछि आईपुगे । भाँडामा बस्दै आएको कोठा भत्कियो । गाउँलले छोराछोरीलाई खाने कुरा दिए । त्यो बेला सन्तान भेटिए होइजाला जस्तो लाग्थ्यो । तर आजभोली  हामी माथि गरेको यस्तो व्यवहार र कष्टकर जीवनयापन देख्दा मर्न पाए हुने जस्तै मन उराठ लाग्दो भएको बताईन । अस्थायी घरटहराका लागि चलाउनेले प्रहरी कार्यालय,वडाकार्यालय पटक पटक धाईन । कसैले पनि उनका पिडा बुझेनन् ।” 


त्यसैगरि सोही ठाउँमा बस्दै आएकी अर्की ६७ बर्षिया जयरुपा बोहरालाई भुकम्प पिडितको सरकारी वा गैरसरकारी तथ्यांकले समेत समेट्न सकेन । बाध्य भएर खुल्ला आकाशमुनि बास विताउनु परेको छ । राहत र पुर्नबासको अस्थायी टहरा पाउनका लागि गरेको संघर्ष खेर गरेको बताईन । १४ बर्ष अघि जमिन जग्गा बाढीपहिरो बगाई दिएपछि श्रीमान काली बोहरा सहित रिम्नामा भाँडामा बस्दै आएका थिए । उनले भनिन,“भाँडामा बस्दै आएको घर भत्कियो । हामीसँग त शिर छोप्ने पाल बाहेक अरु केही छैन । जग्गा नहुँदा आफुले अस्थायी टहरा नपाएको दुखेसो पोख्दै उनले भनिन् हामी त अनागरिक रहेछौं । हाम्रा पिडा सुनिदिने कोही छैनन ।”  सरकारी तथ्यांकमा समेत घरबार जग्गा जमिन नभएकाहरुलाई कसरी सरकार छ भन्ने अनुभुति दिलाउन स्थानीय सरकार,जिल्ला विपद समिति सँगै कुनै योजना नहुँदा बोहरा,पुन,चलाउने जस्ता कति भुकम्प पिडितले कति पिडा भोग्नु परेको होला । सरोकारवाला निकायले तत्काल घरवार विहिन र जग्गा जमिन नभएका भुकम्प पिडितको लगत संकलन गरि अस्थायी टहरा व्यवस्था गरिदिए सरकार भएको अनुभुति ती नागरिकले पाउँने थिएकी ? 
 

प्रतिक्रिया