दैलेखमा आगलागीबाट दुई करोड २८ लाख बढीको क्षति

दैलेखमा आगलागीबाट दुई करोड २८ लाख बढीको क्षति
सुन्नुहोस्

दैलेख – जिल्ला सदरमुकाम दैलेखबजारको त्रिभुवन मावि अगाडि आज दिउँसो आगलागी हुँदा दुई करोड २८ लाख २० हजार बढीको क्षति भएको छ । ओमदेबी अटो पार्टस मोटर ग्यारेजमा बिजुली सट भई लागेको आगो संगै जोडिएको सम्झना फोटो स्टुडियो र सम्झना इण्टरप्राइजेजमा समेत आगो सल्किदा सो क्षति भएको हो । 

दिउँसो साढे एक बजेतिर भएको आगलागीबाट दुई वटा पसलमा नगद, विभिन्न सरसामान समेत गरी उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । ओमदेबी अटो पार्टस लागेको आगो निभाउन प्रयास गर्दा गर्दै सम्झना इन्टरप्राईजेज र सम्झना स्टुडियो सल्कियो उहाँले भन्नुभयो । 

आगलागीबाट मोवाइल लगायतका विद्युतीय उपकरणहरु, खाद्य बस्तु र दैनिक उपभोगका सामग्री र नगद समेत जलेर नष्ट भएका सम्झना फोटो स्टुडियोका सञ्चालक भुपेन्द्र जीसीले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीकोले आगो नियन्त्रणमा लिन सहयोग पर्‍याएका थिए । 

दमकलमा पानी नभएको कारण आगलागीको सूचना पाएपछि खोला पुगेर पानी भरेर आउँदा ढिला गरी दमकल आगलागी स्थानमा पुगेको भन्दै स्थानीयबासी आक्रोशित बनेका थिए । आगो लागेको जानकारी पाएको आधा घण्टा भन्दा ढिला मात्र दमकल आगो लागेको स्थानमा पुगेको थियो । 

चालु आर्थिक बर्षमा जिल्लामा १४ वटा आगलागीका घटना भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ७७ हजार ४७५ हेक्टर क्षेत्रफल रहेको जंगलमा ४५० हेक्टरमा आगलागी भएकाडिभिजन वन कार्यालय दैलेखले जनाएको छ । दैलेखको कुल क्षेत्रफल मध्ये ५२ प्रतिशत जमिनमा जंगल रहेको तथ्यांक छ । 
         
आर्थिक वर्ष ०७८।०७९ मा जिल्लामा १८ वटा आगलागीका घटनाबाट ३ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । त्यसै गरी नौ वटा घर र ३ गोठ क्षति पुगेको थियो । ​​​​​आर्थिक वर्ष ०७९।८० मा आगलागीमा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष आगलागीमा परी १६ पशु चौपाया मरेका थिए भने २१ लाखभन्दा बढीको आर्थिक क्षति भएको थियो । 
 

प्रतिक्रिया